
काठमाडौं – साउदी अरबका एक व्यक्तिले लगातार बन्दूक पड्काएपछि पिस्तोल एक शिशुको मुखमा हालेको पाइएपछि पक्राउ गरिएको छ ।
उनले उक्त घटनाको भिडियो समेत खिचेका थिए । राजधानी रियादमा खिचिएको उक्त भिडियोमा देखिएका मानिस शिशुको दाइ भएको पछि खुलेको थियो । उनले उत्सव मनाउनका लागि हावामा तीनचोटि गोली प्रहार गरेका थिए ।
अर्का व्यक्तिले बन्दूक पड्काउने व्यक्तिलाई ‘शिशुलाई बारुदको गन्ध सुँघाउन’ भन्छन् अनि उनले पिस्तोल शिशुको मुखमा हाल्छन् ।
रियाद प्रहरी प्रवक्ता चाकर सुलेमानले सब्क अन्लाइन पत्रिकाका बताएअनुसार, ती व्यक्तिलाई पक्राउ गरिएको छ ।
भिडियोमा देखिएको बन्दूकलाई पनि प्रहरीले बरामद गरेको उनले बताए ।
पक्राउ गरेका व्यक्तिले बालबालिकालाई जोखिममा पारेको अनि देशको बन्दूक प्रणालीको उल्लंघन गरेको गल्फ न्युजले लेख्यो ।
उत्सव मनाउने हिसाबमा बन्दूक पड्काउन साउदी अरबमा गैरकानूनी छ किनकि गोलीका कारण चोटपटक लाग्ने र मृत्यु समेत हुन सक्ने सम्भावना रहन्छ ।
एजेन्सी