
खोटाङ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण खोटाङमा सञ्चालित सबै यातायात सेवा अवरुद्ध भएको छ ।
राजधानी काठमाडौं तथा तराईका जिल्ला जोड्ने सडकको विभिन्न ठाउँमा आएको बाढी र पहिरोका कारण मंगलवार रातिदेखि यातायात सेवा अवरुद्ध भएको हो ।
मध्यपहाडी लोकमार्गको अर्खौले–हलेसी, हलेसी–जयराम, घुर्मी–खुर्कोट तथा सगरमाथा राजमार्गको विभिन्न ठाउँमा पहिरो झरेका कारण सडक अवरुद्ध भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले बताए ।
‘काठमाडौंबाट मंगलवार बेलुका छुटेको सबै सवारी साधन सिन्धुली जिल्लाको खाङ्साङबेसीमा रोकिएको छ,’ उनले भने, ‘भलबाढी र पहिरोका कारण गाडी रोकिएपछि हजारौं यात्रु बीच सडकमै अलपत्र परेका छन् । तत्काल पहिरो हटाएर बिच सडकमा अलपत्र बनेका यात्रुको उद्धार गर्न सम्बन्धित निकायले पहल थाल्नुपर्ने अवस्था आएको छ ।’
दशैंको मुखमा यातायात सेवा अवरुद्ध भएपछि खोटाङबाट राजधानी तथा तराईका जिल्ला आवतजावत गर्ने यात्रुलाई सबैभन्दा बढी समस्या भएको छ । जिल्लामा सञ्चालित यातायात सेवा अवरुद्धले दैनिक उपभोग्यवस्तु अभाव हुने सम्भावना देखिएको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष उपिनकुमार राईले बताए ।
हप्ता दिनदेखि लगातार परेको वर्षापछि आएको बाढी र पहिरोका कारण २ नगरपालिका र ८ गाउँपालिका रहेको जिल्लाका अधिकांश ग्रामीण सकडसमेत अवरुद्ध बनेको छ । कच्ची अवस्थामा रहेको जिल्लाको सबै ग्रामीण सडक अवरुद्ध भएपछि आवतजावत तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा समस्या भएको छ ।
दिक्तेल–चखेवा, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी, दिक्तेल मात्तिम, दिक्तेल–पञ्चमीलगायत शाखा सडक पूर्णरूपमा अवरुद्ध छ । सडकमा हिलो जम्नुका साथै कतिपय स्थानमा पहिरो खस्दा दक्षिणी क्षेत्र खोटेहाङ गाउँपालिका, जन्तेढुंगा, बराहपोखरी, दिप्रुङ चुइचुम्मा गाउँपालिका जाने कुनै पनि सडकमा सवारी चल्न सकेका छैनन् ।
जन्तेढुंगा गाउँपालिकाबाट सिन्ताङ, फाक्टाङ–धाप्लाङघाट तथा खोटाङबजार–रसुवाघाट सडक ४ महिनादेखि ठप्प छ । यसअघिसम्म सञ्चालनमा रहेको दिक्तेल–बाक्सिला तथा दिक्तेल–ऐंसेलुखर्क सडकसमेत हप्ता दिनदेखि लगातार परेको वर्षाका कारण हौंचुरमा ठूलो पहिरो झरेपछि अवरुद्ध भएको जनाइएको छ ।
कालोपत्रको काम थालिएको मध्यपहाडी लोकमार्गकै दिक्तेल–चखेवा ४६ किलोमिटर सडक निर्माण कम्पनीले निर्वाधरूपमा सवारी साधन चल्ने वातावरण बनाउन नसक्दा अवरुद्ध बनेको स्थानीयवासीले बताएका छन् । उक्त सडकखण्डमा गत जेठ २६ गते झरेको पहिरो हटाउन नपाउँदै पुनः पहिरो झरेको निर्माण कम्पनी रमण गोल्डेन गुड जेबीका प्रबन्ध निर्देशक शाङ्गे शेर्पाले बताए ।
वर्षाका कारण हिलो जम्दा प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारकै सडकमा पैदलयात्रुलाई हिँडडुल गर्नसमेत सकस भएको छ । दिक्तेलबजारको विभिन्न ठाउँमा जमेको हिलोमा कतिपय सवारी साधन घण्टौं अड्किने गरेको छ । सडकमा जमेको हिलोमा सवारी साधन चलाउँदा हिलो उछिट्टिएर पैदलयात्रुले सास्ती खेप्नुपरेको छ ।