काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अत्यावश्यक वस्तुको बजार भाउ थाहा नभएको आरोप लगाएका छन् ।
बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति देउवाले महंगी अत्यधिक बढेको दाबी गरे ।
‘म प्रधानमन्त्रीलाई भन्न चाहन्छु के तपाईंलाई बजार भाउ थाहा छैन ?’ उनले प्रश्न गरे, 'यही सरकारका पालामा अहिलेसम्मकै ठूला भ्रष्टाचार काण्ड भइरहेका छन्, तर सरकार चुपचाप देखिन्छ ।'
उनले सरकारले संविधान मिचेको आरोप लगाए ।
'पछिल्लो समयमा सरकारले संविधानको मर्म भावना समेट्न सकेको छैन,' सभापति देउवाले भने, 'सरकार गठन भएको डेढ वर्ष पुग्दासम्म संविधानको सर्वस्वीकार्यता स्थापित गर्ने दिशामा सरकार असफल रह्यो ।'
सरकार एकपछि अर्को संविधानविपरित काम गर्न उद्दत भएको देउवाले आरोप लगाए ।
‘जनताको करबाट तलब खाने अनि काम चाहिँ पार्टीको गर्ने कुरा कुनै हालतमा क्षम्य हुँदैन,’ सभापति देउवाले भने, ‘बहुमतको सरकार संविधानको मर्म र भावनाअनुसार चलनुपर्ने तर चलेको छैन ।'