

असारै महिनामा पानी पर्यो रुझाउनी
एक्लो यो मेरो मन कसरी बुझाउनी
छुजाङ डुक्पाले स्वर दिएको यो गीत नसुन्ने नेपाली शायदै होलान् । आफ्नो जीवनकालमा जम्मा एउटा मात्र गीत गाएका डुक्पाको यो गीतले नेपाली श्रोतामाझ उनलाई अमर बनायो ।
उनी अहिले हामीमाझ छैनन् । तर उनको गीत अझै पनि बजिरहेकै छ । बरू यो गीतका गायक डुक्पा हुन् र शब्द तथा संगीत तुलसी गजेमरको हो भनेर कमैलाई थाहा छ । पछि यो गीत प्रशान्त तामाङले गाए ।
धेरैले यो गीतलाई इन्डियन आइडल प्रशान्त तामाङको आफ्नै हो भनेर बुझ्छन् । कमैलाई मात्र यो रिमिक्स गरिएको गीत हो भन्ने कुराको हेक्का हुन्छ ।
पछिल्लो समयमा पुराना गीतलाई रिमिक्स गरेर नयाँ स्वरूपमा सांगीतिक बजारमा ल्याउने प्रचलन बढेको छ । पश्चिमेली बाजागाजा थपेर रिमिक्स गर्ने चलन बढ्दा नेपाली संगीतलाई प्रभाव परेको छ ।
कतिपय गीत भने रिमिक्स गरेपछि मात्र चर्चामा आए । ‘बेनीको बजार किरेमिरे जाले रुमाल’ बोलको गीत पनि रिमिक्स भएर आएको छ । मनकुमारी छन्तेलले गाएको गीत लक्ष्मण पौडेल र कल्पना देवकोटाले रिमिक्स गरेर ल्याएका छन् । ‘आँधीखोला उर्लेर आयो’ नामको गीत पनि रिमिक्स भएको छ ।
उसो त कतिपय गायक आफैंले पनि गीतलाई रिमिक्स र रिमेक गरेर ल्याउने प्रचलन पनि बढेको छ । वरिष्ठ लोकगायक बमबहादुर कार्कीले आफ्नो पुरानो गीत ‘खोलापारि निरमाया वारि म रुनी’ लाई रिमेक गरेर ल्याएका छन् ।
पछिल्लो समय लोकगीतमा बढ्दै गएको रिमिक्स प्रवृत्तिलाई धेरैजसो गायकले सकारात्मक रूपमा लिएका छन् । लामो समयदेखि गीत संगीतलाई आफ्नो कर्म बनाएका गायक तथा संगीतकार इन्द्र जीसी रिमिक्सलाई समयअनुसारको मागका रूपमा बुझ्छन् ।
‘समयअनुसार फेरबदल त हुने नै भयो तर नयाँ गीत सृजना गर्नुको साटो पुराना गीतलाई रिमिक्स गर्ने प्रवृत्ति बढेको छ,’ जिसी भन्छन्, ‘यसलाई नराम्रो भन्न खोजेको होइन तर नयाँ गीतका लागि समय र सृजना दिँदा गीत संगीतको स्तरीयता बढ्ने थियो ।’
‘राम्दी पुल तरने बित्तिकै...’ लगायतका दर्जनौं चर्चित गीत गाएका लोकगायक नारायण रायमाझीले आफ्ना पुराना गीतलाई रिरेर्कड नै गर्न लागेका छन् ।
‘मेरा केही गीतलाई मैले पुनः रेकर्ड गर्न लागेको हुँ । रिमिक्स होइन,’ रायमाझी थप्छन्, ‘हाम्रा आफ्नै बाजाको माध्यमबाट डिजिटलाज्ड गर्न मात्र खोजेको हो । रिमिक्स गरेर पुराना ढाँचा नै बिगार्न खोजेको भने होइन ।’
रिमिक्सको नाममा नेपाली लोक संगीतमा पश्चिमी बाजालाई नचाहिँदो तरिकाले मिसाएर गीतको ढाँचा नै बिगार्ने प्रवृत्तिप्रति भने रायमाझी पनि सहमत छैनन् ।
कतिपय नवकलाकारले भने गीतका सर्जकसँग समेत अनुमति नलिई गीत रिमिक्स गरेको पाइन्छ ।
गायक दुर्गा रायमाझी पनि रिमिक्सलाई सामान्य रूपमा लिन्छन् । ‘हामीकहाँ दुई खालको रिमिक्सको चलन आएको छ । ओरिजिनल गीतलाई रिमिक्स गरेर अझै राम्रो बनाउन खोजिएको छ, त्यो राम्रो हो,’ रायमाझी औंल्याउँछन्, ‘मनपरी बाजागाजाको प्रयोग गरेर गीतलाई नै बिगारेर गर्न खोज्नु राम्रो होइन ।’
स्रष्टाको चाहनाअनुसार केही नयाँपनको प्रयोग गर्न खोज्नु चाहिँ समयको माग भएको रायमाझी बताउँछन् । उनी पनि आफ्ना केही गीतलाई पुनः रेकर्ड गर्ने सोचमा छन् ।
आफैंमा रिमिक्सजस्ता गीतका सर्जक मिलन लामा रिमिक्सको नयाँ स्वादसँग त्यति सकारात्मक हुन सकेका छैनन् । गीतमा नयाँ प्रयोग खोजिनु उनलाई स्वाभाविकै लाग्छ ।
‘रिमिक्सको नाममा गीतमा विकृति आयो । बढी आधुनिकता मिसियो,’ उनी थप्छन्, ‘हाम्रै बाजा छ । दमाहा छ । तिनै बाजाको नयाँ प्रयोगबाट हामीले गीत रिमिक्स गर्न सक्छौं ।’ आधुनिक बाजाको अधिक प्रयोग भएको लामाको तर्क छ ।
पुराना गीतको मर्ममा अन्याय नहुने गरी नयाँ स्वरूपमा निकाल्नु भन्ने पछिल्लो पुस्ताका दर्शक तथा श्रोताको माग नै भएको छ ।
तस्वीर, ‘बेनीको बजार.....’ बोलको गीतको रिमिक्स भिडियोबाट लिइएको हो ।