काठमाडौँ, २० चैत - नयाँ सम्झौताअनुसार भारतबाट शनिबारदेखि युरो–४ मापदण्डको पेट्रोल र डिजेल लोडिङ सुरु भएको छ । सो इन्धन सोमबारबाट बजारमा पठाउने आयल निगमले जनाएको छ ।
आयल निगमका प्रवक्ता सीताराम पोख्रेलले शनिबार भारतीय आयल कर्पोरेसन (आइओसी) को सबै डिपोमा युरो–४ मापदण्डको पेट्रोल र डिजेल लोडिङ भएको बताए । उक्त इन्धन निगमको डिपोसम्म आइतबार दिउँसो र साँझसम्म आइपुग्नेछ । ‘त्यसपछि सोमबारदेखि देशैभर युरो–४ मापदण्डको इन्धन पठाउन सुरु हुन्छ,’ उनले भने । हाल युरो–३ मापदण्डको इन्धन प्रयोगमा छ, नयाँ पत्रिकामा खबर छ ।
युरो–४ इन्धनमा ५० पिपिएम सल्फर र ३५ प्रतिशत एरोबेटिक्स हुन्छ, जसले प्रदूषण नियन्त्रणमा सघाउ पुग्ने निगमले जनाएको छ । हाल खपत भइरहेको युरो–३ मा सल्फर एक सय ५० पिपिएम र एरोबेटिक्स ४५ प्रतिशत हुन्छ ।