
यही असोज १४ गते जनगणतन्त्र चीनको ७० वर्ष पुगेको उपलक्ष्यमा चिनियाँ राष्ट्रपति शी चिनफिङले सन् १९४९ देखि अहिलेसम्म चिनियाँ कम्युनिस्ट पार्टीको रेकर्डलाई प्रशंसा गर्दै एउटा सम्भाषण गर्नेछन् । तर शीको आत्मविश्वास र आशावादिताका बावजूद चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यहरू कम्युनिस्ट सत्ताको भविष्यका विषयमा निकै चिन्तित छन् र त्यसको उचित कारण पनि छ ।
दोस्रो विश्वयुद्धपछिको दुई पुस्तामा बजार पूँजीवाद र प्रतिनिधित्वमा आधारित लोकतन्त्रले पश्चिमी विश्वमा समृद्धिको ढोका खोलेको थियो । तर बृहत्तर ऐतिहासिक सन्दर्भमा हेर्दा यो स्वर्णिम युग नियम भन्दा पनि अपवाद हो भन्न मिल्छ ।
सन् २०१२ मा शीले चिनियाँ कम्युनिस्ट पार्टीको बागडोर सम्हाल्दा चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना अनि जनगणतन्त्र स्थापनाको दुईवटा महत्त्वपूर्ण शतवार्षिकीअघि पार्टीले महान् सफलता हासिल गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । तर लगातार आर्थिक सुस्तता आइरहेको अनि अमेरिकासँग तनाव बढिरहेको स्थितिमा सन् २०२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिकी समारोह फिक्का हुने सम्भावना छ । अनि एकदलीय शासन सन् २०४९ सम्म नटिक्न पनि सक्छ ।
हुन त निरंकुश शासनको कुनै समयसीमा हुँदैन तर चिनियाँ कम्युनिस्ट पार्टीले एकदलीय शासनको दीर्घजीवन बिताइसकेको छ । मेक्सिकोको इन्स्टिच्युसनल रिभोल्युसनरी पार्टीले ७१ वर्ष (सन् १९२९ देखि २००० सम्म) सत्ता सम्हालेको थियो, सोभियत संघको कम्युनिस्ट पार्टीले ७४ वर्ष (१९१७–१९९१) अनि ताइवानको कुओमिन्ताङले ७३ वर्ष (मुख्यभूमिमा १९२७ देखि १९४९ र ताइवानमा १९४९ देखि २०००) सत्ता चलाएको थियो । स्टालिनवादी पारिवारिक वंशले उत्तर कोरियामा ७१ वर्ष शासन चलाइसकेको छ र निरंकुश शासन चलाउने विषयमा त्यो मात्र अहिले चीनको समकालीन प्रतिस्पर्धी हो ।
तर चिनियाँ कम्युनिस्ट पार्टीले चिन्ता लिनुपर्ने भनेको ऐतिहासिक प्रवृत्ति मात्र हैन । माओवादका कारण आफैं निम्तिएका विपत्तिहरूबाट बौरिनका लागि सत्तालाई सबल बनाउने अनि विगत चार दशकमा देशलाई समृद्ध बनाउने परिस्थितिहरूको स्थान त्यसभन्दा कम अनुकूल र अझ कतिपय सन्दर्भमा थप शत्रुतापूर्ण वातावरणले लिएको छ ।
पार्टीको दीर्घजीवनमाथिको सबभन्दा ठूलो जोखिम अमेरिकासँग भइरहेको शीतयुद्ध हो । माओउत्तर युगको अधिकांश समय चिनियाँ नेताहरूले अन्तर्राष्ट्रिय मञ्चमा लो प्रोफाइल राखे अनि देशलाई बलियो बनाउनका लागि कुनै पनि द्वन्द्वमा संलग्न भएनन् । तर सन् २०१० सम्म चीन आर्थिक शक्ति बनिसकेको थियो र बाहुबली परराष्ट्रनीति अपनाउन थालेको थियो । यसले अमेरिकाको आक्रोश निम्त्यायो र उसले चीनसँग सम्पर्क बढाउने नीतिबाट बिस्तारै भिडन्त गर्ने नीति अपनाउन थाल्यो र त्यसको प्रमाण अहिले आएर देखिँदैछ ।
आफ्नो सर्वोत्कृष्ट सैन्य क्षमता, प्रविधि, आर्थिक दक्षता र साझेदार सञ्जालका कारण चीन र अमेरिकाबीचको शीतयुद्धमा अमेरिका नै हावी हुने प्रबल सम्भावना छ । भिडन्तमा अमेरिकाले चीनलाई बल्लबल्ल जित्नसक्ने भए पनि चिनियाँ कम्युनिस्ट पार्टी चाहिँ छिन्नभिन्न हुन सक्छ ।
चिनियाँ कम्युनिस्ट पार्टीले आर्थिक क्षेत्रमा बलिया विपरीत परिस्थिति सामना गर्नुपरेको छ । चिनियाँ चमत्कार भनिएको परिघटनालाई विशाल र जवान मजदूर बल, तीव्र गतिको शहरीकरण, विशाल स्तरको आधारभूत संरचना, बजार उदारवाद र विश्वव्यापीकरणले मलजल गरेको थियो । यी सबै कारक तत्त्वहरू अहिले घटिसकेका वा गायब भइसकेका छन् ।
व्यापक सुधार विशेषगरी राज्यको स्वामित्वमा रहेका अक्षम संस्थानहरूको निजीकरण अनि नववाणिज्यिक व्यापारको अन्त्यले आर्थिक वृद्धिलाई कायम राख्न सक्छ । तर थप बजार सुधारको ओठेभक्ति गरे पनि चिनियाँ कम्युनिस्ट पार्टी त्यसलाई कार्यान्वयन गर्न हिचकिचाइरहेको छ । उल्टो उसले निजी व्यवसायीलाई अचानोमा राख्दै राज्यनियन्त्रित संस्थानको हित हुने नीतिलाई अँगालिरहेको छ । राज्यको स्वामित्व रहेको क्षेत्रले एकदलीय शासनको आर्थिक आधार खडा गर्ने भएकाले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले अचानक व्यापक आर्थिक सुधार अपनाउने सम्भावना निकै क्षीण छ ।
राष्ट्रिय राजनीतिक प्रवृत्तिहरू पनि चिन्ताजनक छन् । शीको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले पहिला राम्रो काम गरेको व्यवहारवाद, विचारधारात्मक लचिलोपना र सामूहिक नेतृत्वलाई परित्याग गरेको छ । पार्टीले नवमाओवाद अपनाएको छ जसमा विचारधाराको कठोर अनुपालन, कडा सांगठनिक अनुशासन र त्रासमा आधारित बलियो शासकको शासन समावेश छ । यसले विनाशकारी नीतिगत त्रुटिको जोखिमलाई बढाएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीले संघर्ष नगरिकन हार नमान्ने निश्चित छ । शक्तिमा आफ्नो पकड कमजोर हुँदै जाँदा उसले आफ्ना समर्थकमाझ राष्ट्रवाद उचाल्ने अनि आफ्ना विपक्षीलाई कठोर दमन गर्ने सम्भावना छ ।
तर यस रणनीतिले चीनको एकदलीय शासनलाई जोगाउन सक्दैन । राष्ट्रवादले चिनियाँ कम्युनिस्ट पार्टीलाई अल्पकालका लागि समर्थन दिलाउने भए पनि यसको ऊर्जा अन्ततोगत्वा क्षीण हुनेछ । विशेषगरी पार्टीले जनताको जीवनस्तरमा सुधार ल्याइरहन सकेन भने यो स्थिति चाँडै आउँछ । बाध्यकारी तथा हिंस्रक नीतिमा निर्भर सत्ताले आर्थिक मन्दी, जनताको प्रतिरोधमा वृद्धि, सुरक्षा खर्चमा वृद्धि र अन्तर्राष्ट्रिय रूपमा एक्ल्याइने सम्भावनाका रूपमा निकै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।
असोज १४ गते शीले चिनियाँहरूलाई यो चित्र पक्कै प्रस्तुत गर्ने छैनन् । तर जतिसुकै राष्ट्रवादी अडान लिए पनि माओयुगको अन्त्यपछि चिनियाँ कम्युनिस्ट पार्टीको शासन छिन्नभिन्न हुने सम्भावना बढेर गएको तथ्य लुक्दैन ।
प्रोजेक्ट सिन्डिकेटमा प्रकाशित मिनशिन पेइको विश्लेषण