
काठमाडौं – सिटी एक्सप्रेस मनी ट्रान्सफर र ईसेवाबीच रेमिट्यान्स कारोबार शुरू भएको छ ।
कार्यक्रमबीच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र ईसेवाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार ईसेवा प्रयोगकर्ताले आफ्नो ईसेवामा भएको रकम आफैंले सिटी एक्सप्रेसको नेपालभर रहेको ७ हजारभन्दा बढी एजेन्टमा पठाउन सक्नेछन् । यसका साथै ईसेवाका एजेन्टबाट पनि यो सेवाको लाभ प्राप्त गर्न सक्नेछन् ।
सिटी एक्सप्रेसका सबै एजेन्टबाट आफ्नो ईसेवा खातामा रकम जम्मा गर्ने सुविधा पनि थप गरिएको छ । नेपालमा डिजिटल च्यानलको प्रयोगको प्रोत्साहनको लागि छिट्टै सिटी एक्सप्रेसको अन्तर्राष्ट्रिय एजेन्टबाट पनि सिधै ईसेवा खातामा रकम जम्मा गर्ने सुविधा शुरू हुनेछ ।
ईसेवाबाट मोबाइल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कूल कलेजको शुल्क लगायतका सेवामा शुल्क भुक्तानी गर्न सकिन्छ ।
ईसेवामा हाल ५५ वटा बैंक, ६० हजार एजेन्ट र २० लाखभन्दा बढी ग्राहक रहेका छन् ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १३ वर्षदेखि विश्वभर आफ्नो रेमिट एजेन्टबाट ७ हजारभन्दा बढी नेपालको एजेन्टमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।