
काठमाडौं– नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलको सिमकार्ड लिने ग्राहकलाई थप व्यवस्थित गर्न बैंकमा जस्तै ‘नो योर कस्टोमर’ (केवाईसी) सम्बन्धि व्यवस्था लागू गर्ने भएको छ ।
सिमकार्ड लिने ग्राहकको पूर्ण विवरण लिई वितरणलाई व्यवस्थित बनाउने तथा आपराधिक क्रियाकलाप रोक्न केवाईसी अवधारणा ल्याएको हो ।
केवाईसी कार्यविधिको मस्यौदा निर्माण भैसकेको छ । आउँदो आर्थिक वर्षको शुरूदेखि यो कार्यविधि कार्यान्वयनमा ल्याउने गरी काम भएको प्राधिकरणले जनाएको छ ।
यसअघि बैंकहरूले मात्रै अनिवार्य गर्दै आएको केवाईसी पहिलो पटक सिमकार्डमा पनि अनिवार्य गर्न लागिएको छ ।
जथाभावी रूपमा सिमकार्डहरूको खरीद, बिक्री तथा वितरण गर्ने कार्यले गर्दा फोनमार्फत हुने आपराधिक गतिविधि बढेको हुँदा प्राधिकरणले केवाईसी अनिवार्य गर्न लागेको हो ।