२४ जेठ २०८३, आइतबार
आर्थिक सुरक्षा

कर्णालीमा विपद् प्रकोप : गत वर्ष ५० जनाको मृत्यु, बीमाले राहत पुर्‍याउने आश

असोज ८, २०७६
कर्णालीमा विपद् प्रकोप : गत वर्ष ५० जनाको मृत्यु, बीमाले राहत पुर्‍याउने आश

सुर्खेत – कर्णाली प्रदेशमा गत आर्थिक वर्षमा विभिन्न प्रकारका विपद्मा परेर ५४ जनाको मृत्यु भयो भने ३८ जना घाइते भए ।

सबै विपद् प्रभावितले प्रक्रियागत रुपमा राहत पाउन सकेनन् । आफन्त गुमाउँदाको पीडा व्यहोरेका परिवारले राहत नपाउँदा झन् पीडित हुनुपर्‍यो ।

हरेक वर्ष देखिने यहीँ समस्यालाई सम्बोधन गर्न कर्णाली प्रदेश सरकारले यस वर्षदेखि विपद्बाट हुने दुर्घटना बीमा कार्यक्रम लागू गरेको छ । बीमा कार्यक्रममा कर्णाली प्रदेशका सबै सर्वसाधारण जोडिएका छन् ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीएसपी लोकनाथ तिमिल्सेनाका अनुसार गत आर्थिक वर्ष २०७५/०७६ मा कर्णाली प्रदेशमा विपद्का कारण ८२ करोड १५ लाख ६२ हजार ३२० रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । सो अवधिमा कर्णाली २४० बाढी, २०७ पहिरो, ३९ चट्याङ, १५४ हावाहुरी र २०८ आगलागीका घटना भएका छन् । जसमा ५४ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् । विपद्मा ७०० पशुचौपायामा क्षति भएको छ भने ७५१ घरमा क्षति भएको छ ।

जिल्लागत रुपमा दैलेखमा २ जनाको मृत्यु भयो भने १० जना घाइते भए । सुर्खेतमा ५ जनाको मृत्यु, ३ जना घाइते, जाजरकोटमा १४ जनाको मृत्यु, ४ जना घाइते, सल्यानमा ८ जनाको मृत्यु, १ जना घाइते भएका छन् ।

रुकुम पश्चिममा १ जनाको मृत्यु, डोल्पामा १८ जनाको मृत्यु, ३ जना घाइते र ८ जना बेपत्ता, जुम्लामा २ जनाको मृत्यु, कालिकोटमा १२ जना घाइते, हुम्लामा ३ जनाको मृत्यु, ५ जना घाइते तथा मुगुमा १ जनाको मृत्यु भएको छ ।

प्रहरीको तथ्यांकअनुसार गत ३ वर्षमा विपद्मा परेर १ सय ७ जनाको मृत्यु भएको छ ।

विपद्को क्षतिपछि बीमाबाट प्रभावित परिवारलाई राहत दिने गरी प्रदेश सरकारले कार्यक्रम लागू गरेको छ । सरकारले प्रतिव्यक्ति ७ रुपैयाँ तिरेर १७ लाख ७० हजार प्रदेशवासीको दुर्घटना बीमा गराएको छ । दुर्घटना बीमा गराएपछि एकातिर राज्यले राहत स्वरुप बाँड्ने लाखौं रकम जोगिएको छ भने अर्कोतर्फ जनताले राहत महसूस गर्ने अपेक्षा सरकारको छ ।

सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले आर्थिक अभावमा काजकिरीया गर्न समस्या हुने परिवारलाई ठूलो सहयोग पुग्ने बताए । ‘कर्णालीका जनताको आर्थिक अवस्था दयनीय छ,’ मन्त्री भण्डारीले भने, ‘बीमा कार्यक्रमले कम्तिमा लाखौं गरीब जनताले आफन्तको सदगत गर्न सक्ने र त्यसले परिवारलाई थप आर्थिक हानी नोक्सानीको वातावरण अन्त्य गर्ने हाम्रो अपेक्षा छ ।’

उनका अनुसार प्रत्येक जिल्लाका १ हजार जोखिमपूर्ण अवस्थामा रहेका घरको पनि बीमा गरिने भएको छ । बीमा गरिएका घर बाढीपहिरो तथा अन्य कुनै कारणले क्षति भएको खण्डमा ५ लाख पाउने गरी बीमा गरिएको छ भने बढीमा ५ जनाको ज्यान गएको खण्डमा प्रतिव्यक्ति ५ लाख रुपैयाँ थप पाउने गरी राष्ट्रिय बीमा कम्पनीसँग सम्झौता गरिएको मन्त्री भण्डारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्