
पोखरा – विद्यार्थी कल्याणकारी संघ पोखरा बहुमुखी क्याम्पस एकाइ समितिले पोखरा महानगरपालिका–२१ स्थित बक्रेक आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग गरेको छ ।
कान्तिपुर टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेजको प्रायोजन एवं लोटस युनिफर्म र बन्धु अफसेटको सहप्रायोजनमा विद्यालयमा अध्ययनरत ३५ विद्यार्थीलाई झोलासहित १/१ दर्जन कपी, कलम तथा स्वीटर वितरण गरिएको हो ।
पछिल्ला वर्षमा सामुदायिक विद्यालयतर्फ विद्यार्थी तथा अभिभावकको आकर्षण कम हुँदै गएको अवस्थालाई दृष्टिगत गर्दै ती विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धि होस् भन्ने उद्देश्यका साथ अत्यावश्यकीय शैक्षिक सामग्री वितरण गरिएको संघका अध्यक्ष कृष्णप्रसाद काफ्लेले जानकारी दिए ।
सामुदायिक विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षण कम हुँदा राज्यको लगानीसमेत खेर गइरहेको संघका सचिव रविन पौडेलले बताए । विद्यार्थीलाई सामान्य शैक्षिक सामग्रीको सहयोगले मात्रै पनि विद्यालय जाऔं जाऔं भन्ने वातावरण सिर्जना हुने बताउँदै उनले विश्वव्यापीरूपमा बढिरहेको शैक्षिक गुणस्तरलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प नभएको धारणा राखे ।