
काठमाडौं, २० चैत — प्याराग्वेका राष्ट्रपति होरासियो कार्टेसले गृहमन्त्री तथा प्रहरी प्रमुखलाई बर्खास्त गरेका छन् ।
राष्ट्रपतिलाई दोस्रो कार्यकाल लड्ने अनुमति दिने एक विधेयकका विरुद्ध शुक्रवार भएको प्रदर्शन हिंसात्मक भएको थियो । विरोधकर्ताहरूले संसद् भवनमा छिरेर आगो लगाइदिएका थिए ।

एक विरोधकर्ता रोड्रिगो किन्ताना मारिएपछि अधिकारीहरूले चार प्रहरी अधिकारीहरूलाई पक्राउ गरेका छन् ।
राजनीतिक नेताहरूले मृतकप्रति शनिवार श्रद्धाञ्जली दिएका थिए ।
करीब दुई सय विरोधकर्तालाई पक्राउ गरिएको भएपनि तीमध्ये धेरैलाई छोडिएको छ ।
पच्चीसजना सांसद एक निजी बैठक बसेर संविधान संशोधनको विधेयकलाई समर्थन जनाएपछि विरोधकर्ताहरू सडकमा उत्रिएका थिए ।
प्याराग्वेमा सैनिक शासक जर्नेल अल्फ्रेडो स्ट्रोएसनेरले सन् १९५४ मा सत्ता हत्याएपछि सन् १९८९ सम्मा शासन चलाएका थिए ।
निरंकुशतन्त्र अन्त्य भएपछि अहिलेको संविधान निर्माण भएको थियो र यसले राज्यप्रमुखलाई पाँच वर्षे एक कार्यकालको सीमा तोकेको छ ।
विरोधकर्ताहरूले राष्ट्रपति कार्टेस फेरि चुनाव लड्नका लागि संविधान संशोधन गर्न लागेको भन्दै क्रुद्ध छन् ।
कार्टेसको कार्यकाल सन् २०१८ मा सकिँदैछ ।
बीबीसीबाट