
काठमाडौं – चीनको राजधानी बेइजिङमा संसारको सबभन्दा ठूलो विमानस्थल बनेर तयार भएको छ । यसको उद्घाटन राष्ट्रपति शी चिनफिङले गरेका छन् । बुधवार उनले यसलाई औपचारिक रूपमा शुरू गरिएको घोषणा गरे ।
चीनमा कम्युनिस्ट शासनको ७० वर्ष पूरा भएको अवसरमा विमानस्थल शुरू गरिएको हो । यसको नाम दाक्सिङ विमानस्थल राखिएको छ ।
कुल १७३ एकड भूमिमा यो विमानस्थल फैलिएको छ । त्यो भनेको १०० फूटबल मैदान बराबरको क्षेत्र हो । विमानस्थल स्टारफिश जस्तो देखिन्छ ।
विमानस्थलमा चारवटा धावनमार्ग छन् । यहाँ हरेक वर्ष १० करोड यात्रीले ओहोरदोहोर गर्ने र लगभग ४० लाख टन कार्गो तथा अन्य सामान ढुवानी हुने अनुमान छ । तर विमानस्थल पूर्ण क्षमताका साथ सञ्चालनमा आउन सन् २०४० सम्म लाग्ने बताइएको छ ।
उद्घाटनपछि विमानस्थलबाट पहिलो विमान ग्वान्चो शहरका लागि उड्यो । चाइना एयरलाइन्सको ए–३८० विमान थियो त्यो ।
विमानस्थलको डिजाइन बेलायती आर्किटेक्ट जाहा हदीदले गरेका हुन् । सन् २०१६ मा हदीदको मृत्यु भयो । विमानस्थलनिर्माण सन् २०१५ मा शुरू गरिएको थियो ।
विमानस्थलमुनि एक ट्रेन स्टेसन र मेट्रो लाइन छ । यात्रीहरू त्यसैमा चढेर निकै चाँडो शहर पुग्न सक्छन् ।



एजेन्सी