
काठमाडौं– निर्वाचन आयोगले कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग मिल्दोजुल्दो नाम गरेको पार्टीलाई उस्तै खाले चुनाव चिह्न प्रदान गरेको छ । राप्रपाको चुनाव चिह्न गाइ हो ।
मंसिर १४ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक)लाई साँढे गोरु चुनाव चिह्न प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ ।
राप्रपा संयुक्तबाट फुटेर गएका लाक्पा तामाङ लामाले राप्रपा लोकतान्त्रिक नामको दल निर्वाचन आयोगमा दर्ता गरेका हुन् ।
राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले आफूहरूको चुनाव चिह्नसँग मिल्दोजुल्दो चिह्न दिइएको भन्दै आपत्ति प्रकट गरे ।
‘हामीले निर्वाचन आयोगलाई पनि सुझाव दिएका थियौं, तर उस्तै नाम र चुनाव चिह्न दिँदा मतदाता झुक्किने खतरा छ,’ श्रेष्ठले लोकान्तरसँग भने ।
आयोगले २१ वटा दललाई नयाँ चुनाव चिह्न उपलब्ध गराएको छ । पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तलाई हलो चुनाव चिह्न दिइएको छ ।