काठमाडौं – स्विडेनकी १६ वर्षीया वातावरण अभियन्ता ग्रेटा थनबर्ग अहिले संसारभरि छाएकी छन् । जलवायु परिवर्तनका बारेमा थनबर्गले संयुक्त राष्ट्रसंघमा दिएको भाषण लाखौं मानिसले हेरे अनि शेयर गरे ।
भाषणमा थनबर्गले विश्वनेताहरूलाई कडाकडा कुरा सुनाइन् । जलवायु परिवर्तनका विषयमा उनले व्यक्त गरेका चिन्ता अहिले विश्वभरिका मानिसले अपनाएका छन् ।
थनबर्गलाई एस्पर्जर सिन्ड्रोम छ । यो अटिजमको एक रूप हो । लामो समयसम्म आफूलाई अवसादको भावना आएको थनबर्गले बताइन् ।
अप्रिल २ मा अटिजम अवेयरनेस डेका दिन थनबर्गले फेसबूक पेजमा लेखिन्, ‘अटिजम कुनै उपहार हैन । सही परिस्थितिमा सही सुधार पाएमा यो एक महान् शक्ति बन्न सक्छ । मैले पनि अवसाद, विकार र चिन्ता झेलेकी छु तर
उपचार नपाएको भए मैले कहिले पनि स्कूल नजाने हडताल शुरू गर्न सक्ने थिइनँ किनकि म पनि अन्य मानिस जस्तै हुने थिएँ ।’
एस्पर्जर सिन्ड्रोम डिभेलोपमेन्ट डिसअर्डर हो । यसले कुराकानी गर्ने क्षमतालाई प्रभावित पार्छ ।
यो रोग लागेका मानिसले सामाजिक सम्पर्क बनाउन गाह्रो हुन्छ र सामान्य मानिस जस्तो कुराकानी गर्न सक्दैनन् । उनीहरू अरूका गतिविधि बुझ्दैनन् र भावनात्मक क्षमता पनि कमजोर हुन्छ ।
एस्पर्जर रोग जिन्दगीभरि रहन्छ । थेरापी र उपचारले स्थिति राम्रो हुन सक्छ तर यो रोग लागेको मानिसले सामान्य मानिसको जस्तो जीवन बिताउन सक्दैन ।
आफ्ना लागि एस्पर्जर सुपरपावर र उपहार भएको थनबर्गको भनाइ छ । उनले भनिन्, ‘यसले तपाईंलाई भिन्न तरिकाले सोच्न सिकाउँछ । अनि जलवायु परिवर्तन जस्तो ठूलो संकटमा हामीले अलि फरक तरिकाले सोच्नुपर्ने हुन्छ ।’
अद्वितीय तरिकाले सोच्दा विश्वव्यापी विरोध जगाउन सफल भएको थनबर्गको कथन छ ।
एजेन्सी