
जाजरकाेट – जाजरकोट नलगाड नगरपालिका–१० का अनक नेपाली पारिश्रमिक माग्न ठेकेदार खोज्दै धाउन थालेको दुई वर्ष बितिसक्यो । तर, उनले काम गरेबापतको पारिश्रमिक अझै पाएका छैनन् ।
यो अवधिमा न त उनले काम गरेको पैसा पाए, न त काम लगाउने ठेकेदारलाई नै भेट्न पाए । नलगाड नगरपालिकामा निर्माण भएको चौखा–रजिक–बानियाँ गाउँ सडकमा काम गर्ने मजदुरले दुई वर्षदेखि काम गरेको पैसा नपाएका हुन् ।
नेपाली मात्रै होइन, एउटै गाउँका ५० जनाभन्दा बढी मजदुरले काम गरेको पैसा पाएका छैनन् । ‘आज दिन्छु, भोलि दिन्छु भन्छ । तर, ठेकेदारले भनेको आजभोलि अझै आएन । अहिले फोन गर्दासमेत सम्पर्क हुँदैन,’ स्थानीय धनबहादुर मल्लले भने, ‘काम गरेर घर चलाउने हामी, पैसा नहुँदा के खाने भन्ने समस्या पर्यो । ऋण सापट गरेर घर चलाइयो, अहिले तिर्नै पाइएन । पसलेले सामान दिनै छाडे ।’
जाजरकोटको नलगाड नगरपालिकाले चौखा–रजिक–बानियाँ ग्रामीण सडक निर्माण गरेको दुई वर्ष बितिसकेको छ । तर, सडकमा काम गर्ने ५० जनाभन्दा बढी स्थानीय कामदारले अझै पैसा पाएका छैनन् ।
जिल्ला समन्वय समिति जाजरकोटका सदस्य तेजविक्रम शाह र निर्माण व्यवसायी वीरबहादुर सिंहले सडक निर्माणको ठेक्का लिएका हुन् । तर, सिंह र शाहमध्ये कसले पैसा दिने भने कुनै टुंगो छैन । दुवै एकले अर्कालाई दोष दिँदै पन्छिँदै आएका छन् । जसका कारण स्थानीयले १० लाखभन्दा बढी पारिश्रमिक पाउन सकेका छैनन् । नयाँ पत्रिकामा खबर छ ।