
काठमाडौं– लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ४ स्याङ्गेका नरबहादुर गुरुङले शनिवार साँझको समयमा नजिकै ठूलो आवाजमा पहिरो खसेको सुने ।
होटल व्यवसाय तथा सामाजिक काममा सक्रिय गुरुङ तत्काल पहिरो आएको ठाउँतिर दगुरे । घटनास्थल अलि कोल्टो ठाउँमा पर्छ ।
उनी घटनास्थलमा पुग्दा पहिरोले लमजुङ–मनाङ सडकखण्ड अवरुद्ध पारिसकेको थियो । उनीसँगै आसपासका अन्य व्यक्ति पनि घटनास्थलमा पुगे ।
बाटोबाट पहिरोले तल खसालेको अवस्थामा एउटा स्कोर्पियो देखियो । बा१६च ५०६८ नम्बर प्लेट स्पष्टै देखिएको स्कोर्पियो ढुंगाले थिचेको अवस्थामा थियो ।
देख्दा लाग्यो, मानिसहरू पनि परे कि ! ‘मानिसहरू पनि थिचिएका हुन सक्छन् भनेर हामी स्कोर्पियो भएको ठाउँमा पुग्यौं, तर त्यो खाली थियो,’ गुरुङले लोकान्तरसँग भने ।
पहिरोमा परेको स्कोर्पियो खाली देखेपछि उनीहरूले मानिसहरू उछिट्टिए कि भनेर यताउता हेरे । केही भेटिएन ।
अलि पर पुग्दा सुरक्षित ठाउँमा बसिरहेको अवस्थामा ड्राइभर भेटिए । बल्ल थाहा भयो, कुनै मानवीय क्षति भएनछ ।
कसरी बचे यात्रु ?
मर्स्याङ्दी गाउँपालिका– ४ का वडाध्यक्ष सुमन गुरुङका अनुसार–
पहिरो गएको ठाउँमा सडक उकालो र घुम्ती छ । गाडीहरू त्यहाँबाट पार गर्न अलि गाह्रो पर्छ । शनिवार साँझ अलिअलि पानी पनि परिरहेको थियो ।
गाडी घ्यारघ्यार गरेर अगाडि नबढेपछि ड्राइभरले यात्रुलाई तलै झारेछन् । सडकको तल्लो घुम्तीबाट माथिल्लो मोडसम्म सिधाबाटो हिँडेर आउन आग्रह गर्दै ड्राइभरले गाडी अगाडि बढाएछन् ।
अलि अगाडि पुगेपछि उनले देखे– माथिबाट ठूला–ठूला ढुंगासहितको विशाल पहिरो आउँदैछ ।
गाडीमा यात्रु बाँकी नरहेकाले उनी गाडीबाट फुत्त हाम्फालेर पहिरोबाट बचिनसक्ने सम्भावित स्थानतर्फ लागेछन् ।
केही सेकन्डमै पहिरो आइपुग्यो र गाडीलाई उछिट्याएर तल पुर्यायो ।
गाडी अगाडि नबढेपछि यात्रुलाई तलै झार्नु र ड्राइभर पनि चलाखीपूर्ण ढंगले हामफाल्न सक्नुले मानवीय क्षति हुन पाएन ।
संयोगले मानिसहरू यसरी बाँचे कि सुन्दा फिल्मको कहानीजस्तै लाग्छ ।
गाडीमा मनाङ घुम्न जान लागेका व्यक्तिहरू रहेको बताए पनि गुरुङले यकिन संख्या बताउन सकेनन् ।
सडक अवरुद्ध
पहिरोका कारण लमजुङ–मनाङ सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी सहायक निरीक्षक श्रीराम श्रेष्ठले लोकान्तरलाई जानकारी दिए ।
प्रहरी टोली बिहानै घटनास्थलतर्फ गएको बताउँदै उनले सडक खुलाउन पहल भइरहेको बताए ।