०७ असार २०८३, आइतबार

खानेपानी आयोजना बनेपछि स्थानीयले पाए शुद्ध पिउने पानी

खानेपानी आयोजना बनेपछि स्थानीयले पाए शुद्ध पिउने पानी

नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१४ धर्म बस्तीमा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि स्थानयीवासीले शुद्ध  खानेपानी पिउन पाएका छन् । 

विक्रम संवत् २०६५ बाट निर्माण शुरू भएको सो आयोजना २ महिना अघि सकिएको हो । संघीय सरकारको २ करोड ८४ लाख, साविकको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नवलपरासीबाट ३५ लाख र पाइपलाइन विस्तारका लागि बर्दघाट नगरपालिको ६ लाखको लगानीमा सो आयोजनाको निर्माण सम्पन्न भएको दाउन्नेदेवी खानेपानी समितिका सचिव दुर्गा चौधरीले बताए ।

आयोजनाबाट बर्दघाट नगरपालिका–१४ धर्मबस्ती, गंगाबस्ती, सूर्यनगर, शीतल बस्ती लगायतका स्थानीयले शुद्ध खानेपानी पिउन पाएका छन् । साविक दाउन्नेदेवी गाउँ विकास समितिका वडाअन्तर्गत हाल बर्दघाट नगरपालिका–१४ का करीब १ हजार २ सय घरधुरीलाई शुद्ध पानी वितरण गरिने योजना रहेको समितिका अध्यक्ष सूर्य आलेले जानकारी दिए ।

अहिलेका लागि २ लाख २५ हजार लिटर क्षमता भएको  ट्यांकी निर्माण गरिएको र अपुग भएमा बोरिङमार्फत पानी रिजर्भ र फिल्टर गरी जनसमुदायलाई शुद्ध पिउने पानी वितरण गरिने योजना बनाइएको समितिले जनाएको छ । 

झोलङ्गे पुल निर्माण कार्य अन्तिम चरणमा

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–७ (तल्लेबेलहानी) र वडा नम्बर १४ डेढ नम्बर जोड्ने खजुरा खोलामा निर्माणाधीन झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

बर्दघाट नगरपालिका–१४ र खजुरा खोला पारी रहेको वडा नं ७ तल्लो बेलहानी जोड्ने गरी निर्माणाधीन झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको वडा नम्बर १४ का अध्यक्ष केशव खत्रीले जानकारी दिए ।

संघीय सरकारको करीब १ करोड रुपैयाँको लागतमा झोलुङ्गे पुल निर्माण कार्य भइरहेको छ । पुलको लम्बाइ १२१ मिटर र चौडाइ साढे १ मिटर रहेको पुल निर्माणको जिम्मा लिएका बिएलटी कन्स्ट्रक्सनले जनाएको छ । पुल निर्माणको समय अवधि १८ महिनाको रहेपनि स्थानीयस्तरबाट सबैको सहयोगका कारण करीब ६ महिनाभित्रै निर्माण सकिने लक्ष्य लिएको निर्माण कम्पनीका प्राविधिक क्याम्प थापाले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्