
पोखरा – पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखराको मुख्य बजारमा आधुनिक मानिएको ‘अस्फाल्ट’ प्रविधिबाट सडक कालोपत्रे गरिने बताएका छन् ।
महानगरपालिका–९ कार्यालयको उद्घाटन तथा विजयादशमीको शुभकामना आदनप्रदान कार्यक्रममा उनले पोखराको भूवनोटका आधारमा सो प्रविधि आवश्यक रहेको विश्वास व्यक्त गरे । पहिलो चरणमा पोखराको मुख्य बजार महेन्द्रपुल, पृथ्वीचोक, मुस्ताङ चोकलगायत लेकसाइडको करीब १३ मिलोमिटर प्रविधिबाट सडक निर्माण गरिने तयारी भइरहेको उल्लेख गर्दै उनले अन्य स्थानमा पनि क्रमिकरुपले विस्तार गर्दै जाने जानकारी दिए ।
पोखरामा बढी पानी पर्ने र भिरालो भू–बनोट भएका कारण परम्परागत तरिकाले कालोपत्रे गर्दा टिकाउ नहुने हुँदा गण्डकी प्रदेश सरकारको १२ करोड रुपैयाँ र महानगरपालिकाको १८ करोड रुपैयाँको लागतमा सो बाटो निर्माण गर्न लागिएको उनको भनाइ थियो । भौगोलिक हिसाबले मुलुककै सबैभन्दा ठूलो महानगरलाई व्यवस्थित गर्न पोख्रेलीको महत्वपूर्ण भूमिका रहनेमा जोड दिँदै प्रमुख जिसीले सेतीनदीको सुन्दरतालाई कायम राख्दै पर्यटन प्रवद्र्धन गरिने उल्लेख गरे ।
कार्यक्रममा प्रमुख जिसीले वडाको विभिन्न गतिविधिलाई समेटेर प्रकाशन गरिएको पाश्र्वचित्र नवौं अंकको समेत लोकार्पण गरेका थिए ।
पोखरा–९ का वडाध्यक्ष रामराज लामिछानेले सेवाग्राहीको सुविधाका लागि नयाँ कार्यालय सञ्चालन गरिएको बताउँदै कर्मचारीको सक्रियतामा वडामा डेंगु रोग केही हदसम्म भएपनि नियन्त्रणमा आएको बताए ।
कार्यक्रममा वडा सदस्य राममाया मानन्धर र सचिव लोकदर्शन कोइरालाले राजस्व संकलनका आधारमा बजेट विनियोजन गरिनुपर्ने आवश्यकता औंल्याए ।