
काठमाडौं-चाडपर्वको भीडभाडमा व्यापारीले बिलबिना नै कारोबार गर्न थालेको भन्दै सरकारले निगरानी बढाएको छ ।
राजधानीका फर्म तथा पसलहरूले बिना बिलमा कारोबार गर्न थालेको पत्ता लगाएपछि आन्तरिक राजश्व विभागले क्षेत्र छुट्याएर निगरानी बढाएको हो ।
उद्योगीले नक्कली बिल बनाएर सामान राजधानी भित्र्याउने र राजधानीका पसललाई बिना बिलमा सामान दिने प्रवृत्ति मौलाएपछि विभागले सक्रियता देखाएको छ ।
'मूल्य अभिवृद्धि कर (भ्याट) तथा आयकर छल्न उद्योगीले बिना बिलबाट कारोबार शुरू गरेको भन्ने गुनासो विभागमा व्यापक आएको छ,' विभागका एक अधिकारीले भने ।
उनका अनुसार निगरानी बढाउन विभागका महानिर्देशक विनोद कुँवरले राजधानीका २० वटा कर कार्यालयका प्रमुखलाई बोलाएर यस विषयमा चनाखो बन्न र गम्भीर हुन निर्देशन दिएका छन् । यो खबर आजको कारोबार दैनिकमा प्रकाशित छ ।