
काठमाडौं – दशैं मनाउन २ दिनमा ४ लाख ५० हजारभन्दा बढी मानिसले राजधानी छाडेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंका अनुसार असोज १५ गते २ लाख १५ हजार र १६ गते २ लाख ४२ हजारले राजधानी छाडेका छन् ।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले असोज ५ गतेदेखि शुक्रवार बिहानसम्म १६ लाख ५६ हजारले राजधानी छाडेको जानकारी दिए । यो बीचमा झण्डै ७ लाख यात्रुु राजधानी भित्रिएका पौडेलले बताए । अहिले राजधानीमा भित्रिने क्रम भने न्यून भएको छ ।
उनका अनुसार पछिल्ला २ दिनमा १ लाख ४० हजारको हाराहारीमा यात्रु भित्रिएका छन् । ‘समग्रमा आजसम्म राजधानीबाट बाहिरिएको खुद संख्या भने ९ लाख हाराहारीमा पुग्यो, अहिले उपत्यका, नागढुंगालगायत क्षेत्रमा सुरक्षा व्यवस्था राम्रो छ, केही व्यापारिक क्षेत्रमा मानवीय चाप बढी भएकाले क्यूमा गाडी गुडिरहेका छन्,’ उनले भने ।
उनले राजधानीमा १ हजारभन्दा बढी ट्राफिक प्रहरी खटाइएको र नागढुंगामा र्याकरसहित ट्राफिक प्रहरी तैनाथ रहेको जानकारी दिए ।