१० असार २०८३, बुधबार

पालमा जीवन बिताइरहेका बाढीपीडितको गुनासो : दशैं होइन दशा आउँदैछ !

असोज १८, २०७६
पालमा जीवन बिताइरहेका बाढीपीडितको गुनासो : दशैं होइन दशा आउँदैछ !

सुर्खेत – नेपालीहरूको महत्त्वपूर्ण चाड दशैं नजिकिँदैछ ।

बिजया दशमी आउन अब तीन दिनमात्रै बाँकी छ । तर २०७१ सालमा आएको विनाशकारी बाढीले पीडित बनेकाहरूको मनमा चाडवाड आउँदा तनाव मात्रै थपिने गरेको छ ।

विमला नेपाली पालमा बस्दै आएको पाँच वर्ष भन्दा बढी भयो । उनी दुई जिउकी छिन् । त्यसैले त उनलाई लाग्छ- दशैं नै दशाजस्तो । 'हाम्रा लागि दशैं दशा बनेर आउने गरेको छ,' घरबारविहीन विमलाले भनिन्, ‘के खानु, के लगाउनु ।’ उनीसँग अहिले खाना खानको लागि पर्याप्त पैसासम्म छैन । ‘सबैका छोरा छोरीले नयाँ कपडा लगाउने गरेका छन्,’ उनी भन्छिन्, ‘तर हामी के कसरी कपडा किनौं, कसरी मिठोमसिनो खाउँ ?’

यस्तै पीडा मैसरा गुरुङको पनि छ । ‘बाढीले हामीलाई घर न घाटको बनायो,’ उनले भनिन्, ‘शुरूशुरूमा विभिन्न संघ संस्थाले केही सहयोग गरेपनि अहिले भने हामी ओझेलमा परेका छौं ।’

बाढीपीडित महिला हुन् लक्षिमा दमाई । उनको घरमा खाने कुराको चरम अभाव छ । ‘सबैले दशैं मनाइरहँदा हामी भने दशा मनाइरहेका छौं । कहिले हामीले छानामुनि बस्न र निर्धक्क बस्न पाइएला भन्ने चिन्ताले सताउँदै आएको छ ।’ आफूहरू काम गर्न चाहेपनि त्यस्तो अवसर न त प्रदेश सरकारले दिएको न त स्थानीय तहले दिएको भन्दै उनले सरकारको आलोचना गरिन् । ‘प्रदेश सरकार गठन भएसँगै के के न होला भन्ने आशामा हामी थियौं,’ वीरेन्द्रनगर वडा नं. ७ महिला विकास केन्द्रमा बस्दै आइरहेकी उनले भनिन्, ‘हात्ती आयो हात्ती आयो फुस्सा जस्तै भएको छ । अब त आश लाग्न पनि छोडिसक्यो ।’

चार वर्षदेखि त्रिपालमुनि बस्दै आइरहेका सुर्खेतका बाढीपीडितको दशैँ भने यसपटक पनि निराशाजनक नै हुने भएको छ ।

दशैँ आउँदा उनीहरूको पेट भतभती पोल्छ । बिहान-बेलुकीको छाक टार्नै मुस्किल छ । सरकारले प्रत्येक पटक आश देखाउने तर आफूहरूका मस्या भने ज्यूँकात्युँ रहेको बाढीपीडितहरूको गुनासो छ । दशैँमा नयाँ लुगा लाउन र मिठो खान त परैको कुरा बिहान बेलुकीको छाक टार्नै मुस्किल छ यी बाढीपीडितलाई । त्यसैले पनि बाढीपीडित लक्ष्मी दमाईलाई छोराछोरीलाई खुसी दिन नसक्दा दशैँ होइन दशा आएजस्तो भएको छ ।

‘न आफ्नो घर छ न सम्पत्ति । गिटी बालुवा कुटेर अलिअलि छाक टार्थें तर अहिले त्यही बाटो पनि बन्द भएको छ । घर भइदिए पनि मजदुरी गरेर खाने आशमा यी पिडीतले पाँच वर्ष बिताए त्रिपालमुनि । यीनैको भोटको बलमा सत्तामा पुगेकाहरूले आश मात्रै देखाउँछन् तर उपलब्धि भने शुन्य छ,’ लोकान्तरसँग उनले गुनासो पोखिन् ।

सर्जन टमटा पञ्चपुरी नगरपालिकाको वडा नं. ११ तातापानीमा बस्दै आइरहेका छन् । उनलाई पनि दशैंको रौनकले छोएको छैन । ‘विगतको पीडाले अहिले पनि मन खिन्न बनाइरहेको छ । कसरी हाँसी खुशी दशैं मनाउनु ?’ उनी भन्छन्, ‘न त रोजगारी पाइयो न काम नै पाइन्छ अनि कसरी दशैं मनाउनु ?’ उनले सरकारले आफूहरूका लागि रोजगारी दिएको भए जहान बच्चा पाल्न सजिलो हुने बताए । ‘अहिले भारतका विभिन्न शहरमा ६ महिना काम गर्न जानुपरेको अवस्था छ,’ उनी भन्छन्, ‘त्यहाँबाट ज्याला मजदुरी गरि ल्याएको केही हजार रुपैंयाले छाक टार्नै मुश्किल हुन्छ, कसरी दशैं मनाउनु ?’

पुष्पा विकको साथमा अहिले सात जना बालबच्चा छन् । बालबच्चालाई शिक्षादीक्षा दिलाउनु उनका लागि धेरै परको कुरा तिनीहरूलाई गाँस र कपास जुटाउन दिनहुँ सकस पर्छ उनलाई । आफ्नो र बालबच्चाको पेट पाल्न आफ्नै बस्तीमाथि भेरीले बनाएको बगरमा पुगेर गिट्टी कुट्नु उनको दिनचर्या बनेको छ आजभोलि । ‘बाढीले त हामीलाई घरबारविहीन बनाएकै थियो, त्यसमा झनै दैवले मेरो संसार खोसेर लियो । जीवनमा आँसु र पीडाबाहेक केही छैन,’ भावविह्वल भएर उनले लोकान्तरसँग भनिन्, ‘सबैका लोग्ने हुँदा भारतबाट कमाएर ल्याउँछन् । मलाई भने आज खाना कसरी जुटाउने होला भन्ने कुराले निकै पिरोल्छ ।’ उनी भन्छिन, ‘लोग्ने भइदिएको भए दुःख साटेर संघर्ष गरिन्थ्यो होला तर के गर्ने पीडामाथि थपिएको पीडाको भारले थिचिएकी छु, दशैं कसरी मनाउनु ?’

के गर्दैछ स्थानीय सरकार?

वीरेन्द्रनगरपालिकाले अहिले बाढीपिडीतका लागि भन्दै प्रदेश सरकारसँग सहकार्य गरिरहेको जनाएको छ । ‘जग्गा हुनेलाई हामीले प्रदेश सरकारसँग सहकार्य गर्दै घर बनाउने रकम दिइरहेका छौं,’ नगर प्रमुख देवकुमार सुवेदीले भने, ‘हामीसँग अन्य श्रोत नहुँदा उहाँहरूको सबै माग पूरा गर्न सक्ने अवस्थामा हामी छैनौं ।’ उनले खानै नपाएकाहरूका हकमा नगरपालिकाले सोच्न सक्ने बताए । ‘उहाँहरूलाई हामीले अहिले दशैं मान्नको लागि केही दिने भन्ने निर्णयमा पुगेका छैनौं,’ उनले भने, ‘कोही कसैले खानै नपाउने परिस्थिति आएको खण्डमा चामल, दाल वा अन्य के हुन्छ दिन सकिन्छ ।’

पञ्चपुरी नगरपालिकाका नगर प्रमुख उपेन्द्र थापा बाढीपीडितका लागि केही गर्न सक्ने अवस्थामा नगरपालिका नरहेको बताउँछन् । ‘असारमै हामीले बजेट पारित गरिसकेका छौं,’ उनले भने, ‘उतिबेला हामीले बजेट विनियोजन नगरेका कारण अहिले केही सहयोग गर्न सक्ने अवस्थामा हामी छैनौं ।’उनले ८६ जनाले घर निर्माणका लागि पैसा प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट घर निर्माणका लागि भन्दै पहिलो किस्ता स्वरूप १ लाख पचास हजार लगिसकेको बताए । ‘८६ घरधुरीले डेढलाख रुपैयाँ लगिसकेका छन्,’ उनले भने, ‘तर अहिलेसम्म उहाँहरूले घर बनाउन सुर गर्नु भएको छैन ।’

salt training

कमेन्ट गर्नुहोस्