१८ असार २०८३, बिहीबार

मादक पदार्थ किनबेचलाई समय निर्धारण

मादक पदार्थ किनबेचलाई समय निर्धारण
प्रतिकात्मक तस्वीर

स्याङ्जा – जिल्लाको भिरकोट नगरपालिकाले मादक तथा सुर्तीजन्य पदार्थ किनबेचका लागि समय निर्धारण गरेको छ । 

९ वटा वडा रहेको भिरकोट नगरपालिकाले हालसम्म ७ वटा वडामा मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ किनबेचका लागि साँझ ६ बजेदेखि ९ बजेसम्मको ३ घण्टा समय निर्धारण गरेको नगरप्रमुख छायाराम खनालले बताए ।

‘भिरकोट नगरपालिका अब छिट्टै बालमैत्री स्थानीय शासन घोषणाका क्रममा रहेकाले यसका लागि दु्रत रुपमा कार्य भइरहेको छ,’ नगर प्रमुख खनालले भने, ‘बालमैत्री स्थानीय शासन तथा सामाजिक सुधारलाई मध्यनजर गर्दै हामीले अभियानका रुपमा मादक पदार्थ तथा सुर्तीजन्य पदार्थ किनबेचका लागि समय निर्धारण गरेका हौं ।’ 

विशेषगरी बालमैत्री नगर घोषणाको अन्तिम चरणमा रहेको नगरपालिकाले बालबालिकालाई कुलतमा फस्न नदिने उद्देश्यले १८ वर्षमुनिका बालबालिकालाई मादक पदार्थ तथा अन्य सुर्तीजन्य पदार्थ किनबेच गर्ने कार्यमा प्रतिबन्ध लगाइएको नगर प्रमुख खनालले बताए ।

वडा नम्बर ३ बाट शुरू भएको अभियान अहिले नगरपालिकाका ७ वटा वडामा पुगेको छ भने बाँकी रहेका २ वटा वडामा पनि स्थानीय वडावासी, होटल व्यवसायीसँग टोलटोलमा पुगेर भेलामा छलफल भइरहेको र बाँकी रहेका वडामा पनि अभियान सञ्चालन हुने नगर प्रमुख खनालले बताए ।

वडा कार्यालयले टोलटोलमा पुगेर टोलवासीसँगको छलफलबाट यो अभियान सञ्चालन गर्ने निर्णय गरेको र वडावासीले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको नगर प्रवक्ता दीपेन्द्र केसीले बताए ।

बालमैत्री नगर घोषणालाई सहयोग पुर्‍याउने र बालबालिकालाई कुलतमा फस्न नदिनका लागि चालिएको यो अभियानले समाजमा होहल्ला, झैझगडा हुने क्रमलाई पनि न्यूनीकरण गर्नमा सघाउ पुग्ने विश्वास वडा नम्बर ७ का वडा अध्यक्ष शेषकान्त अर्यालले बताए ।

‘तोकिएको ३ घण्टाको अवधिमा जसले मादक र  सुर्तीजन्य पदार्थ सेवन गर्ने हो उसैले मात्रै किन्नुपर्ने र बालबालिकालाई खरीद बिक्री कार्यमा प्रयोग नगर्न वडावासीसँग आग्रह गरिएको छ,’ वडाध्यक्ष अर्यालले भने, ‘नगरपालिका तथा वडाले अगाडि सारेको यो अभियानप्रति वडावासी सकारात्मक हुनुभएकाले विश्वास छ यो कार्य सफल हुनेछ, कार्यान्वयनमा जानेछ ।’

salt training

कमेन्ट गर्नुहोस्