२८ असार २०८३, आइतबार

नौबिसे–नागढुंगा सडक अष्टमीका दिन मर्मत गरिने

नौबिसे–नागढुंगा सडक अष्टमीका दिन मर्मत गरिने
फाइल फोटो

चितवन – उच्च सवारी चापका कारण मर्मतसम्भार गर्न कठिन भएको त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुंगा सडकखण्डको गणेश मन्दिर क्षेत्रमा आइतवार अष्टमीका दिन मर्मतसम्भार गरिने भएको छ ।

असोजको पहिलो साता ३ दिन दैनिक १ घण्टा एकतर्फी सवारी रोकेर मर्मतसम्भार गर्दा ५ दिनसम्म सडक प्रभावित बनेको थियो । 

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार एकतर्फी सवारी रोकेर कालोपत्रे दबेको ठाउँमा भरेर कालोपत्रे गरिँदै छ । यसअघि अन्य क्षेत्रमा मर्मतसम्भार भइसकेको उनले बताए ।
वर्षभरिमा सबैभन्दा कम सवारी चाप दशैंका दिनमा हुने अनुमान गर्दै अष्टमीका दिन काम गर्न लागिएको हो । 

सवारी चाप बढी भएर यात्रुलाई मर्का पर्ने अवस्था आएमा भने काम रोकिने छ । अधिकारीले यात्रुलाई प्रभावित नपार्ने गरी दबेको सडक मर्मत गर्न लागिएको बताए । निकै दिनको प्रयास पछि मजदूरको व्यवस्थापन गरिएको उनले वताए । सो सडकखण्डको नौबिसे–पिप्लामोड खण्डको १० किलोमिटर डिभिजन सडक कार्यालय भरतपुर र पिप्लामोड–नागढुंगा सडकखण्डको २ किलोमिटर डिभिजन सडक कार्यालय काठमाडाँंले हेर्ने गर्दछ ।

अधिकारीले सो सडकखण्ड मर्मतसम्भार गर्न निकै कठिन हुने गरेको बताए । सडक मर्मत नगर्दा पनि नहुने र गर्दा पनि जस नपाइने गुनासो उनको छ । अन्य समयमा १० मिनेट सडक रोक्दा ३ किलोमिटरसम्म सडक जाम हुने गरेको अधिकारी बताउँछन् । सो क्षेत्रमा छदेखि सात मिटरमात्र सडक चौडा छ । सोही सडक हुँदै दैनिक १४ हजार हाराहारी सवारीसाधन राजधानी प्रवेश र बाहिरिने गर्दछन् ।  

सो खण्डमा मर्मतसम्भारका लागि गत वर्ष बोलपत्र आह्वान गरिएपनि कसैले पनि बोलपत्र समावेश गरेनन् । यस वर्ष पनि पहिलो बोलपत्र कसैको पनि नपरेको अधिकारीको भनाइ छ । काम गर्न नसक्ने भए पछि ठेकेदार कम्पनीले मुग्लिनदेखि पिप्लामोडसम्मनै मर्मतका लागि बोलपत्र समावेश नगर्ने गरेको उनले बताए ।

असुरक्षित बन्दै पैदलयात्री 

गएका २ महिनामा जिल्लाका विभिन्न सडकमा पैदल हिँडिरहेका ११ जनाको सवारीसाधनको ठक्करबाट मृत्यु भएको छ । सवारीकै ठक्करले ९ जना घाइते भएका छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार गत आर्थिक वर्षमा पैदल हिँड्दै गरेका ४१ को सवारीको ठक्करबाट मृत्यु भएको थियो । त्यस वर्ष ७९ घाइते भएका थिए । 

यात्रीको आफ्नै कारण, चालकको लापरवाही र साँघुरा सडकका कारण पैदलयात्री असुरक्षित हुने गरेका गिरिको ठम्याइ छ । मदिरा सेवन गरेरबीच सडकमा हिँड्ने र जेब्राक्रसबाट बाटो नकाट्ने बढी दुर्घटनामा पर्ने गरेका छन् ।

यसैगरी मदिरा सेवन गरेर सवारी चलाउने चालक र मदिरा सेवन नगरेकै भए पनि जथाभावी सवारी हाक्नेका कारणले पैदलयात्री असुरक्षित बनेको गिरी बताउँछन् ।

साँघुरा सडकमा मानिस नदेखिएका कारण सवारीको ठक्करबाट मृत्यु भएको पनि पाइएको छ । गिरीका अनुसार पैदलयात्रा गर्दा मृत्यु हुनेमा धेरैजसो वृद्धवृद्धा हुने गरेका छन् । चालक र पैदलयात्री दुवै सचेत नभएसम्म यस्ता घटना रोक्न नसकिने उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्