
बागलुङ – जिल्लाको बरेङ गाउँपालिकाले केन्द्रीय तथा स्थानीय स्तरको लघु जलविद्युतको पहुँचबाट विद्युत्बाट वञ्चित घरमा उज्यालो पुर्याएको छ ।
भौगोलिक विकटता, गरिबी र विपन्नताका कारण अझै पनि धिपधिपे टुकी बालेर रात काट्नुपर्ने बाध्यता अन्त्य गर्न गाउँपालिकाले विपन्न परिवारलाई सोलार वितरण गरेको छ ।
सामुदायिक जलविद्युतमा विद्युत् महसुल बढी आउने तथा शुरूमा जडान खर्च धेरै लाग्ने भएका कारण हालसम्म टुकीको भरमा बस्नुपरेको वडा नम्बर ३ का वासिन्दा भानबहादुर सार्कीले बताए ।
गाउँपालिकाका भरका ४१ विपन्न परिवारका लागि ४१ थान सोलार वितरण गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।
केन्द्रीय प्रसारण लाइनको पहुँच नपुगेको दुर्गम ठाउँमा सामुदायिक विद्युत् भएपनि आर्थिक अभावले विद्युत् सेवाबाट वञ्चित भएका कारण निःशुल्क रुपमा सोलार प्रदान गरिएको अध्यक्ष शर्माले जानकारी दिए ।
आर्थिक अभावका कारण ५ वटै वडाका विपन्न परिवार उज्यालोबाट वञ्चित भएको पाइएपछि गाउँपालिकाले विपन्न परिवारलाई सोलार वितरण गर्न ३ लाख विनियोजन गरेको थियो ।
सोलार वितरणपछि गाउँपालिकाका गाउँ, टोल र बस्तीमा उज्यालोको सहज पहुँच विस्तार भएको प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ पौडेलले बताए । ‘विशेषगरी दलित र विपन्न परिवारले सामुदायिक विद्युत् जडान गर्न सकेका थिएनन्, घर नजिकै भएको बिजुली प्रयोग गर्न नसकेर हेरेर बस्नुपर्ने अवस्थाले हामीलाई गहिरो गरी छोयो,’ प्रशासकीय अधिकृत पौडेलले भने ।
विद्युत् महसुलसमेत तिर्न नसकेर अँध्यारोमा बसेका परिवारलाई पूर्ण उज्यालो गाउँ गराउनका लागि वडाभित्रका १० विपन्न परिवारलाई ३ वटा बल्ब बल्ने सोलार वितरण गरिएको वडा नम्बर ३ बाटाकाचौरका वडाध्यक्ष पूर्णबहादुर खनालले जानकारी दिए । गाउँपालिकाले ४१ वटा सोलारमध्येमा वडा नम्बर १ मा १०, वडा नम्बर २ मा ११, वडा नम्बर ३ मा १०, वडा नम्बर ४ मा ६ र वडा नम्बर ५ मा ४ थान सोलार प्रदान गरेको छ ।