१७ असार २०८३, बुधबार

हिजो दिनभर : यस्ता छन् १२ प्रमुख समाचार

हिजो दिनभर : यस्ता छन् १२ प्रमुख समाचार

घर–घरमा भित्र्याइयो फूलपाती 

आश्विन शुक्ल सप्तमीका दिन शनिबार अपराह्न घर–घरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइएको छ ।

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती शनिबार घर–घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीकका रूपमा नौथरि फूल भित्र्याइयो ।
 
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाशनिबारा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइएको हो ।
 
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रूपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।  

केरामा ब्रह्माणी, दारिममा रक्तदन्तीका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आवाहन गरी पूजा गरिन्छ । यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन् ।
 
देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नववटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । 
आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरूको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने शनिबारैका दिनदेखि बढ्ने गर्दछ । शनिबारैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम अझ तीव्र भएको छ ।

हनुमानढोकामा फूलपाती भित्र्याइयो 

बडादशैँको सातौँ दिन शनिबार हनुमानढोकास्थित दशैँघरमा फूलपाती धार्मिक विधिपूर्वक भित्र्याइएको छ ।
 
हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको व्यवस्थापनमा गुर्जुको पल्टन, पञ्चेबाजाका साथमा सुरक्षाकर्मीसहित टोलीले शनिबार गोरखाबाट जमलमा ल्याइएको फूलपाती हनुमानढोकास्थित दशैँघरमा भित्र्याइएको हो । 

    फूलपाती भित्र्याउने कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईसहित निजामती सेवाका कर्मचारी र विभिन्न देशका कूटनीतिज्ञको सहभागिता थियो । 

गोरखाबाट धादिङको जीवनपुरसम्म दशैँघरका पुजारीले र जीवनपुरबाट जमल (त्रिचन्द्र क्याम्पस परिसर) सम्म काठमाडौँबाट गएका प्रतिनिधिले फूलपाती ल्याउने चलन छ । निकै रमाइलो देखिने उक्त समारोहमा नेपाली सेनाले तोप पडकाएर हर्षबढाइ समेत गरेको थियो ।

शुभ साइतको प्रतीकका रूपमा केराको बोट, दारिम, धानको बाला, हलेदो, मानवृक्ष, उखु, बेलपत्र, अशोकको फूल र जयन्तीलाई भित्र्याइन्छ । ‘केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको प्रतिकका रूपमा पूजा गरिन्छ ।


टुँडिखेलमा फूलपाती बढाइँ

नवरात्रिको सातौँ दिन सैनिक मञ्च टुँडिखेलमा शनिबार फूलपाती बढाइँ समारोह गरिएको छ । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक भइन् । 

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना , उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायत मन्त्रीगण, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा विभिन्न पेशा व्यवसायका प्रतिनिधिको सहभागिता थियो । 

कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले स्वागत गरेका थिए ।  फूलपातीका दिन सैनिक मञ्चमा बढाइँ गर्ने परम्परा रहिआएको छ । बढाइँअघि राष्ट्रपतिको स्वागतमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो । बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपका साथ मार्चपास गरेको थियो । सेनाको टोलीबाट इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र षट्कोण चिह्नबाट बढाइँ प्रस्तुत गरिएको थियो ।

सुनसान बन्यो काठमाडौँ 

दशैँ मनाउन सर्वसाधारणहरु घरघर गएकाले काठमाडौँ उपत्यका सुनसानजस्तै देखिन थालेको छ ।  उपत्यकामा मानिसहरुको चहलपहल न्यून बन्दै गएको छ भने सवारी साधनसमेत पातलिएका छन् । अघिपछि सवारी जाम हुने विभिन्न चोकहरुमा रोकिनु नपरेको महानगरीय ट्राफिक प्रहरी महशाखाले जनाएको छ । सीमित मात्रामा भाडाका र निजी गाडी तथा मोटरसाइकल चलेका छन् ।   सवारी कम भएकाले शनिबार दिउँसो पनि कार्यस्थलमा खटिएका ट्राफिक प्रहरीहरु फुर्सदिला देखिएका थिए । 

कलङ्की, कोटेश्वर तथा न्यूरोडलगायत व्यापारिक क्षेत्रहरुमा अझै केही भीडभाड रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । सो क्षेत्रमा सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरी खटाइएको उनले बताए ।  महाशाखाले दिएको तथ्याङ्कअनुसार शनिबार मात्रै तीन लाख ४५ हजार मानिस राजधानीबाट बाहिरिएका छन् । 

    नौबिसे–नागढुङ्गा सडक मर्मत

    उच्च सवारी चापका कारण मर्मतसम्भार गर्न कठिन भएको त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको गणेश मन्दिर क्षेत्रमा आइतबार अष्टमीका दिन मर्मतसम्भार गरिने भएको छ । असोजको पहिलो साता तीन दिन दैनिक एक घण्टा एकतर्फी सवारी रोकेर मर्मतसम्भार गर्दा पाँच दिनसम्म सडक प्रभावित बनेको थियो । 

    डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार एकतर्फी सवारी रोकेर कालोपत्रे दबेको  ठाउँमा भरेर कालोपत्रे गरिँदै छ । यसअघि अन्य क्षेत्रमा मर्मतसम्भार भइसकेको उनले बताए । वर्षभरिमा सबैभन्दा कम सवारी चाप दशैँका दिनमा हुने अनुमान गर्दै अष्टमीका दिन काम गर्न लागिएको हो । 
प्रहरीको प्रहरीको निःशुल्क बस

नेपाल प्रहरीले महाअष्टमीदेखि विजयादशमीसम्म निःशुल्क बस सञ्चालन गर्ने भएको छ । प्रहरी प्रधान कार्र्यालयले दशैँमा यात्रुको सहजताका लागि उपत्यकाका दुई रुटमा बस सञ्चालन गर्न लागेको हो । 

बिहान ११ः०० देखि साँझ ४ः०० बजेसम्म सञ्चालन गर्ने बस सेवामा रुट नं १ मा नक्साल, जय नेपाल, दरबारमार्ग, रत्नापार्क, नागस्थान, त्रिपुरेश्वर, कालीमाटी, कलङ्की, बल्खु, एकान्तकुना, जावलाखेल, पुल्चोक, कुपण्डोल, माइतीघर र पुतलीसडक छन् । यस्तै रुट नं २ मा मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, नागस्थान, जमल, लैनचौर, लाजिम्पाट, नारायणगोपालचोक, बालुवाटार छन् । प्रहरीले चाडपर्वका समयमा यात्रुको सहजताका लागि दुई बस सञ्चालन गर्न लागेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

युवा सङ्घ केन्द्रीय कमिटीलाई पूर्णता
 
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले एकतापछिको केन्द्रीय समितिलाई पूर्णता दिएको छ ।

साबिकको युवा सङ्घ र वाइसिएल नेपालबाट सहमति र भागबण्डाका आधारमा ३३५ सदस्यीय केन्द्रीय कमिटीमध्ये ३३२ सदस्यलाई पूर्णता दिएको हो । सङ्गठनका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलद्वारा शनिबार जारी विज्ञप्तिमा पारित केन्द्रीय कमिटीको पहिलो बैठक आगामी कात्तिक १८ र १९ गते काठमाडौँमा आयोजना गरिएको छ । यसैगरी कात्तिक २० र २१ गते सङ्घले राष्ट्रिय भेलाको आयोजना गरेको छ ।

उपनिर्वाचन प्रक्रियामा भाग लिन आयोगको अपिल
निर्वाचन आयोगले बडादशैँ, दीपावली, नेपाल संवत्, छठ लगायतका चाडपर्वका उपलक्ष्यमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा सम्बन्धित क्षेत्रका मतदातालाई मतदानमा भाग लिनसमेत अपिल गरेको छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमद्वारा शनिबार जारी विज्ञप्तिमा राजनीतिक दल, निर्वाचित जनप्रतिनिधि, राजनीतिकर्मी, सञ्चारकर्मी, बुद्धिजीवीलगायत निर्वाचनमा सरोकार राख्ने सम्पूर्ण संस्था एवम् व्यक्तिप्रति शुभकामना व्यक्त गरिएको छ । पर्वहरूले सबै नेपालीमा सुख, सु–स्वास्थ्य, सम्पन्नता र राष्ट्रको समृद्धि कायम गर्न सफल होस् भन्ने कामना विज्ञप्तिमा गरिएको छ । 

    विप्लव समूहका सेक्रेटरीसहित दुई पक्राउ
नेत्रविक्रम चन्द (विप्लव) समूहका मोरङ जिल्ला सेक्रेटरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरी शनिबारसार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित पत्रकार सम्मेलनमा मोरङको बूढीगङ्गा गाउँपालिका–३ बस्ने विप्लव समूहका सेक्रेटरी आभाष भन्ने कुमार खतिवडालाई विराटनगर–४ को इक्राइबाट को२०प ५८८८ नंको मोटरसाइकल साथ प्रहरीले बिहीबार पक्राउ गरेको जनाएको छ ।

निजले दिएको जानकारीबाट बूढीगङ्गा गाउँपालिका–७ धरहरा बस्ने कुमार डाँगीलाई विष्फोटक पदार्थ र त्यसमा प्रयोग हुने सामग्री तीन फिट माटोमुनि प्लाष्टिकमा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरिएको छ ।

प्रहरीले निओजल ९० लेखिएको (जिलेटिन) विष्फोटक पदार्थ ४३ थान, एरियलसहितको सेतो रिमोट एक, तार जोडिएको बक्स एक, रातो टेप र तारसहितको डेटकार्ड एक, केप दुई, मसिनो तार एक र मोबाइल एक प्रहरीले बरामद गरेको हो ।

यसैगरी निजहरूका साथबाट विप्लव समूहका विभिन्न दस्तावेज, प्रेस विज्ञप्ति, झण्डा, आर्थिक सहयोग पत्र, सहयोग रसिद दुई ठेलीलगायतका अन्य सामग्री बरामद गरेको पत्रकार सम्मेलनमा जनाइएको छ । प्रदेश प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले चन्दा माग्ने समूह आउना साथ प्रहरीलाई जानकारी गराउन आग्रह गर्दै मोरङमा सो समूहका २० जना अदालतको आदेशमा जेलमा रहेको र २६ अनुसन्धानमा रहेको जानकारी दिए । 

दज्यानी चिह्न

उपरथीमा पदोन्नति भएका दुई सैनिक अधिकारीलाई शनिबार दज्र्यानी चिह्न प्रदान गरिएको छ ।
 
मन्त्रिपरिषद्को असोज १७ को निर्णयानुसार उपरथीमा पदोन्नति भएका निरीक्षण अधिकृतको कार्यालयका सहायक रथी अशोकराज सिग्देल र पश्चिम पृतनाका सहायक रथी गोकुल भण्डारीलाई शनिबारै प्रधानसेनापति पूर्णचन्द्र थापाले दज्यानी चिह्न प्रदान गरेका हुन् । 

साथै नेपाली सेनाले पदोन्नति भएका उपरथी सिग्देललाई निरीक्षण अधिकृतको कार्यालयमा निरीक्षण अधिकृत र भण्डारीलाई पश्चिम पृतनाको पृतनापतिको जिम्मेवारी दिइएको नेपाली सेनाले शनिबार विज्ञप्तिमार्फत जनाएको छ । 

छोराद्वारा बाबुको हत्या

    काभ्रेको नमोबुद्ध नगरपालिका–२ का १८ वर्षीय वियज तामाङले आफ्नै बाबुको हत्या गरेका छन् । तामाङले शनिबार राति घरायसी विवादपछि पिकले टाउकोमा प्रहार गरी ४२ वर्षका बाबु टेकबहादुरको हत्या गरेका हुन् । 

    वियजलाई शुक्रबार रातिनै पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ ।

दशैँमा दुई दिन मदिरा बिक्री वितरणमा रोक लगाइयो

    चाडपर्वलाई लक्षित गरी स्थानीय प्रशासनले मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । दशैँमा दुई र तिहारमा दुई दिन मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको कञ्चनपुरका सहायक प्रजिअ गोर्कणप्रसाद उपाध्यायले जानकारी दिए । 

    मादक पदार्थ सेवनबाट हुन सक्ने गतिविधिलाई निरुत्साहित गरी चाडपर्व व्यवस्थित बनाउने उद्देश्यले सरोकारवाला निकायसितको समन्वयमा सो निर्णय गरिएको उनले बताए । 
 “दशँैमा नवमी र दशमीमा गरी ४८ घण्टा मदिरा बिक्री नगर्ने सहमति भएको छ”, सहायक प्रजिअ उपाध्यायले भने, “तिहारमा पनि भाइटीकालाई मध्यनजर गर्दै ४८ घण्टा बिक्री बन्द हुन्छ ।”

    यसअघि चाडपर्वका बेला २४ घण्टाका लागि मादक पदार्थ बिक्री वितरणमा रोक लगाउँदै आइएको थियो । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा उपभोक्ता संरक्षण मञ्च, मदिरा व्यवसायी सङ्घ, कञ्चनपुर उद्योग वाणिज्य सङ्घका प्रतिनिधि सहभागी थिए । यसैगरी स्थानीय प्रशासनकै अगुवाइमा बजार क्षेत्रमा स्थानीय तहसहित बजार अनुगमन गरिरहेका छन् । यस्तै सुरक्षा व्यवस्था मजबुद बनाउन जिल्ला प्रहरी कार्यालयले जिल्लाका नौ वटै स्थानीय तहमा आठ सयभन्दा बढी प्रहरी परिचालन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्