३१ असार २०८३, बुधबार

अमेरिकासँग व्यर्थको वार्ता गरिन्न : उत्तर कोरिया

अमेरिकासँग व्यर्थको वार्ता गरिन्न : उत्तर कोरिया

काठमाडौं – अमेरिकाले आफ्नोविरुद्ध शत्रुता कायम राखिरहेमा आणविक वार्ता जारी राख्नुको औचित्य नभएको उत्तर कोरियाले आइतवार बताएको छ । 

स्विडेनमा वार्ता रोकिएको भोलिपल्ट उत्तर कोरियाको बयान आएको हो । उत्तर कोरियाका नेता किम जोङ–उन र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पबीच फेब्रुअरी महिनामा भएको बैठकपछि कैयौं महिनासम्म गतिरोध भएको थियो । अहिले बल्ल आएर यो वार्ता भएको छ । 

स्विडेनमा भइरहेको वार्ता बीचैमा छोड्दै उत्तर कोरियाले अमेरिकाबाट नयाँ र रचनात्मक समाधान प्रस्तुत नहुनु निराशाजनक भएको बतायो । उता अमेरिकाले चाहिँ दुई हप्तापछि फेरि बैठक गर्न इच्छुक रहेको बताएको छ । तर उत्तर कोरियाको परराष्ट्र मन्त्रालयका प्रवक्ताले अर्को बैठकको अमेरिकी दाबी आधारहीन रहेको बताएका छन् । 

उनले भने, ‘यस्तो व्यर्थको वार्ता गर्ने हाम्रो उद्देश्य छैन ।’

अमेरिकाले पुरानो अडान नछोडेमा वार्ता तत्कालै भंग हुने प्रवक्तको भनाइ छ । ‘अमेरिकाले शत्रुतापूर्ण नीति अन्त्य गर्नका लागि व्यावहारिक कदम नउठाएसम्म यस्तो किसिमको वार्ता गर्ने प्योङयाङको इच्छा छैन,’ उनले भने । 

अमेरिकाले चाहिँ साढे ८ घन्टा लामो बैठकमा राम्रो कुराकानी भएको बतायो । तर उत्तर कोरियाको टिप्पणीमा बैठक सफल भएको कुनै छेकछन्द भेटिएको छैन ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्