काठमाडौं – थाइल्यान्डको खाओ याई नेसनल पार्कको हायू नारोक झरनामा खसेर ६ हात्तीको मृत्यु भएको छ ।
पार्कका उद्धारकर्ताहरूले दुई हात्तीलाई बचाएका छन् । बचाइएका दुवै हात्ती मृत छावातर्फ जाने कोशिश गरिरहेका थिए ।
शनिवार हात्तीहरूको बथान झरनाको तीव्र प्रवाहमा बगेको थियो ।
उक्त ठाउँलाई नर्कको खाल्डो पनि भनिन्छ ।
बचाइएका हात्तीहरूको स्वास्थ्यमा एक हप्तासम्म नजर राखिने अधिकारीहरूले बताए । घटनापछि झरना पर्यटकहाक लागि बन्द गरिएको छ र हात्तीहरूको शव हटाइएको छ ।
राजधानी बैंककबाट १२० किलोमिटर पूर्वमा रहेको पार्कका पशुचिकित्सक चान्या कंचनसाकाले बताए, ‘अहिले दुवै हात्ती आराम गरिरहेका छन् । पानीको प्रवाह पार गर्ने कोशिशमा दुवै बेस्सरी थाकेका छन् ।’
हायू नारोक झरना नजिक बनेको खाल्डो वर्षाको मौसममा पानीले भरिन्छ । सन् १९९२ मा पनि उक्त झरनामा आठ हात्ती खसेर मरेका थिए ।
पार्कमा ३०० वटा जंगली हात्ती बस्छन् । यूनेस्कोको विश्व सम्पदा सूचीमा रहेको फायायेन खाओ याई जंगल क्षेत्रको यो एक भाग हो ।
एजेन्सी