
काठमाडौं – मेक्सिकोको पिचुक्लाको शहरका मेयरले एक आधिकारिक कार्यक्रममा आफ्नो चित्रसहितको आफ्नै आकारको कार्डबोर्ड पठाएपछि आलोचना भएको छ ।
मोइजेज अगिलार तोरेस नाम गरेका ती मेयरले शुक्रवार स्वास्थ्य सेवासम्बन्धी एक कार्यक्रममा भाग लिन नसकेपछि आफ्नै छविसहितको कार्डबोर्ड पठाएका थिए ।
कटआउटमा मेयरले अनौपचारिक वस्त्र लगाएको र दाहिने मुट्ठी हावामा उचालेको देखिन्छ ।
राजनीतिकर्मी बन्नुअघि ती मेयर स्वास्थ्यकर्मी थिए । उनलाई भेट्न खोजेकाहरू उनको चित्र हेर्न बाध्य भए ।
स्थानीयहरूले सामाजिक सञ्जालमा तोरेसविरुद्ध आक्रोश पोखेका छन् । २०० जनाभन्दा बढी व्यक्तिले उपचार पाउने उक्त आधिकारिक कार्यक्रममा मेयरले मजाक गरेको उनीहरूको भनाइ छ ।
मेयरका सहयोगी होसे अलेहान्द्रो बुस्तामान्ते माजाले आलोचनालाई मत्थर पार्न खोज्दै मेयर सशरीर उपस्थित नभएपनि कार्यंक्रम सफल भएको बताए ।
एजेन्सी