काठमाडौं – भारतका रक्षामन्त्री राजनाथ सिंहले फ्रान्स गएर लडाकू विमान राफेल रिसिभ गरेका छन् ।
विमान लिनुअघि उनले शस्त्रपूजा गर्दै राफेलमा नरिवल चढाए, ऊँ लेखे र राफेलको चक्कामुनि कागती राखे ।
विपक्षी दल कांग्रेसका नेता सन्दीप दीक्षितले यस्तो किसिमको पूजामाथि प्रश्न उठाएका छन् । उनले विमान रिसिभ गर्न रक्षामन्त्री नै किन जानुपर्थ्यो र भनी समेत प्रश्न उठाए ।
वायुसेनाले लडाकू विमान रिसिभ गर्न सक्थ्यो र रक्षामन्त्री आफैं पुग्नुपर्दैनथियो भने ।
विजयादशमी र राफेल विमानलाई सरकारले जोडेकोमा पनि दीक्षितले आपत्ति जनाए । पर्वसँग विमानलाई जोड्नुमा कुनै तुक नरहेको उनको भनाइ छ । यो सरकार काम त गर्छ तर नाटक त्यसभन्दा बढी गर्छ, उनले भने ।
राफेलको शस्त्रपूजाले सामाजिक सञ्जालमा पनि बहस निम्त्याएको छ । संसारमा पहिलोपटक यस्तो दृश्य देखिएको प्रयोगकर्ताहरूको टिप्पणी छ । राजनाथ सिंहले फ्रान्सेली विमानलाई पनि पूजाआजा गरेर भारतीय बनाइदिएको भनी मानिसहरू उडाइरहेका छन् ।
राजनाथ सिंहले मंगलवार फ्रान्समा राफेल विमान उडाए र भारतका लागि रिसिभ पनि गरे । पहिलोपटक कुनै ठूलो लडाकू विमान भारतीय शस्त्रागारमा आएको हो । त्यसमा गरिएको शस्त्रपूजा संसारले हेरेको छ ।
एजेन्सी