
काठमाडौं, २१ चैत — केही पाइलटहरूको अंग्रेजी कमजोर भएका कारण बेलायतमा हवाई दुर्घटनाको जोखिम बढेको एक अध्ययनले देखाएको छ ।

नागरिक उड्डयन प्राधिकरणका तर्फबाट गरिएको अनुसन्धानले विगत १८ महिनाको अवधिमा बेलायतको हवाईक्षेत्रमा सयौं गलत सञ्चारहरू भएको पायो ।
एउटा घटनामा एक पाइलटले मिडल्यान्ड्स विमानस्थलमा अनुमति नलिई रनवेमा विमान उतारेका थिए ।
अर्को घटनामा पाइलट म्यानचेस्टर विमानस्थलमा दायाँ जाने कि बायाँ भन्ने विषयमा उडानकै बेलामा रनभुल्ल परेका थिए ।
यस्ता घटनाका कारण खतरा छन् कि छैनन् भनी प्राधिकरणले स्वतन्त्र समीक्षा गराएको थियो ।
समीक्षामा गम्भीर दुर्घटनाको खतरा औंल्याइएको छ ।
परीक्षण अवधिभर कुल २६७ घटनामा भाषागत समस्याका कारण दुर्घटनाको जोखिम देखिएको पाइयो ।
पाइलटको जाँचमा चिट चोरेको, भ्रष्टाचार भएको र राम्ररी जाँच नलिइएको लगायतका कारण यसो हुन गएको प्रतिवेदनले औंल्याएको छ ।
स्काई न्युजबाट