०७ असार २०८३, आइतबार

मतदाता परिचयपत्र छपाई सुरु, दैनिक १४ लाख तयार हुने

कात्तिक २०, २०७४
मतदाता परिचयपत्र छपाई सुरु, दैनिक १४ लाख  तयार हुने

काठमाडौँ, २१ चैत - निर्वाचन आयोगले आगामी स्थानीय निर्वाचनका लागि आवश्यक मतदाता परिचयपत्र छपाइको काम सुरु गरेको छ ।

कान्तिपथस्थित आयोगको परिसरमा सुरु गरिएको मतदाता परिचयपत्र छपाइ कार्यको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले आज सुभारम्भ गर्नुभएको हो ।

छपाइको जिम्मा पाएको ‘ओमनी ग्रुपले’ मतदाता परिचयपत्रको काम १० दिनमा पूरा गर्ने ग्रुपका संयोजक कुल हरिले जानकारी दिनुभयो ।

मतदाता परिचयपत्र छपाइका लागि तीन सेवामा गरी ६०० कर्मचारी खटाइएको उहाँले बताउनुभयो ।

परिचयपत्र छपाउनका लागि तीनवटा छपाइ मेसिन र ३६ वटा लेमिनेसन मेसिन प्रयोगमा ल्याइएको छ । त्यस्तै लेमिनेसनका लागि थप २२ वटा मेसिन जगेडामा राखिएको छ ।

दैनिकरुपमा १० देखि १४ लाखसम्म परिचयपत्र तयार हुने जानकारी दिइयो । यसपटकको मतदातापत्र विगतको तुलनामा निकै गुणस्तरयुक्त र सुरक्षित रहेको आयोगले दाबी गरेको छ । यो परिचयपत्र १० वर्षसम्म सहजै प्रयोग गर्न सकिने बताइएको छ ।

निर्वाचनका लागि आइतबार आयोगले मतदाताको सङ्ख्या यकिन भएसँगै नामावली र परिचयपत्र छपाइको काम धमाधम सुरु भएको हो ।

यी दुवै कार्यले मतदाता, राजनीतिक दल र उम्मेदवारलाई निर्वाचनको थप सुनिश्चितता प्रदान गरेको छ । आगामी निर्वाचनका लागि आयोगले एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताको नाम आइतवार नै स्वीकृत गरेको छ । रासस

कमेन्ट गर्नुहोस्