
काठमाडौं – नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति शी चिनफिङ स्वदेश फर्किएका छन् ।
एयर चाइनाको विशेष विमानबाट शनिवार काठमाडौं ओर्लिएका शी आइतवार सोही विमानमा स्वदेश फिर्ता भएका हुन् ।
शीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले बिदाइ गरे ।

करीब साढे २१ घण्टा लामो नेपाल बसाइका क्रममा शीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपीशर्मा ओली, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटे ।
प्रचण्डसँग केहीबेर वान टू वान छलफल गरेपछि शीले नेकपाका सचिवालय सदस्यहरूसँग सामूहिक रूपमा भेटेका थिए ।

प्रधानमन्त्री ओली र राष्ट्रपति शीको उपस्थितिमा नेपाल–चीन प्रतिनिधिमण्डलस्तरीय वार्ता समेत भयो । यसक्रममा नेपाल र चीनबीच विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
हस्ताक्षरित समझदारीपत्र ओली र शीको उपस्थितिमा आदानप्रदान भएको थियो ।
यसअघि शनिवार साँझ शीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रिभोजको आयोजना समेत गरेकी थिइन् ।
२३ वर्षपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण भएको हो ।
तस्वीरहरू : गगन अर्याल