काठमाडौं, २२ चैत - सडकमा गुड्ने साधनले जथाभाबी हर्न बजाउँदा ध्वनि प्रदूषण बढेको भन्दै नियामक निकायले काठमाडौंका सडकमा हर्न बजाउन रोक लगाएका छन् ।

यातायात व्यवस्था विभाग ट्राफिक प्रहरी महाशाखा, काठमाडौं महानगरपालिका र जिल्ला प्रशासन कार्यालय काठमाडौंको चैत २० गतेको संयुक्त बैठकले हर्न बजाउन नपाउने व्यवस्था कार्यान्वयन सुरु गर्ने निर्णय गरेको खबर अन्नपूर्ण पोस्टमा खबर छ |
सडकमा गुड्ने यातायातका साधनले अब विशेष अवस्थाबाहेक हर्न बजाए जरिबाना तिर्नुपर्ने छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ कोे दफा १६४ को ग अनुसार जथाभाबी हर्न बजाए जरिबाना गर्ने निर्णय गरेको यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले बताए । काठमाडौंका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीको अध्यक्षतामा बसेको बैठकले २०७४ वैशाख १ गतेदेखि यो नियम लागू हुने निर्णय गरेको छ ।