
काठमाडौं – हङकङमा आइतवार हिंस्रक प्रदर्शनका क्रममा हातेबम प्रहार गरिएको प्रहरीले सोमवार जानकारी दिएको छ । यसले प्रहरी कर्मचारी र विरोधकर्ताहरूबीच हतियारको प्रतिस्पर्धा भएको देखिन्छ ।
उक्त बम एउटा झाडीमा लुकाइएको थियो र प्रहरीको गाडी मोङ कोकमा गुडिरहँदा मोबाइलबाट सक्रिय बनाइएको हङकङ प्रहरीको विस्फोटक पदार्थ निष्क्रिय बनाउने इकाइका प्रमुख सुर्यान्तो चिन–चिउले बताए ।
बमले कुनै हताहती भएको वा कसैलाई चोटपटक लागेको छैन तर पहिलोपटक यसरी बम राखिएको प्रहरीले बतायो । बमको चित्र हेर्दा रातो प्लास्टिकको झोला, तारहरू र नोकिया मोबाइल फोन देखिएको छ ।
‘यस्ता बमले हाम्रा अधिकारीहरूलाई घाइते बनाउने उद्देश्य राखिएको हुनुपर्छ,’ डेपुटी प्रहरी कमिस्नर ताङ पिङ–क्युङले बताए ।
‘यस्तो हिंस्रक काम गर्नेहरू विरोधकर्ता हैनन् । उनीहरू दंगाबाज र अपराधी हुन् र उनीहरूले विधिको शासनलाई ध्वस्त बनाइरहेका छन्,’ ताङले बताए । ‘उनीहरूले जेका लागि लडाईं गरेको भए पनि यस्तो व्यवहार जायज ठहरिइँदैन,’ उनले थपे ।
विरोध प्रदर्शनहरू हिंस्रक बनिरहँदा चिनियाँ अधिकारीहरूले विरोधकर्ताहरूको काम आतंकवादनिकट बताएका छन् । बेइजिङका अधिकारीहरूले विरोधमा सेनाले हस्तक्षेप गर्न सक्ने चेतावनी दिएका छन् ।
एजेन्सी