काठमाडौं – घरबाहिर हरियोपरियो ठाउँमा समय बिताउनु स्वास्थ्यका लागि लाभदायक हुने चिकित्सकहरूले बताएका छन् ।
साइन्टिफिक रिपोर्ट्समा प्रकाशित एक लेखमा हप्ताको दुई घन्टा प्रकृतिको समीपमा बिताउने सल्लाह दिइएको छ ।
अध्ययनले बेलायतमा लगभग २० हजार मानिसलाई समेटेको थियो । सर्वेक्षण सन् २०१४ देखि २०१६ सम्म गरिएको थियो । सर्वेक्षणमा भाग लिनेहरूलाई एक साताको गतिविधि रेकर्ड गर्न भनिएको थियो । हप्तामा दुई घन्टा वा बढी प्रकृतिको नजिक जाने मानिसहरू पटक्कै नजाने मानिसभन्दा बढी स्वस्थ रहेको पाइयो ।
तर दुई घन्टा भन्दा कम समय बिताउनेमा यही असर परेको देखिएन । अनि हप्ताको पाँच घन्टाले चाहिँ अतिरिक्त स्वास्थ्यलाभ गराएन ।
आजकल चिकित्सकहरूले नै मानिसलाई जंगलतिर समय बिताउन सल्लाह दिन थालेका छन् । स्विडेनमा साइकल चढ्ने र तालछेउका साउनामा समय बिताउने काम दैनिक जीवनको एक अंग बनिसकेको छ ।
दक्षिण कोरियामा सरकारले तनावग्रस्त नागरिकलाई मानसिक स्वास्थ्यलाभ गर्नका लागि हीलिङ फरेस्ट्स बनाउन लागेको छ ।
स्कटल्यान्डका सरकारी अस्पतालहरूले रोगीहरूलाई घरबाहिर समय बिताउन सल्लाह दिन थालेका छन् ।
एजेन्सी