
काठमाडौं– दशैंको टीकाको चौथो दिन अर्थात् असोज २४ गते सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका– १० भोटसिपास्थित बडहरे चोकमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भयो ।
इन्द्रावती गाउँपालिका– ९ सिपाटारबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नं. को बस सडकबाट २०० मिटर तल खसेको हो । करीब ७० जना यात्रु सवार बस दुर्घटना हुँदा पचासभन्दा बढी घाइते भएका थिए ।
यो त उदाहरण मात्र हो, १५ दिनसम्म मनाइने दशैंको अवधिमा देशभरमा भएका सवारी दुर्घटनामा १ सय ११ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाएको छ ।
‘दशैंको घटस्थापनादेखि पुर्णिमासम्ममा देशभरमा गरी १ सय ११ जनाले सवारी दुर्घटनामा ज्यान गुमाए,’ नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरलले लोकान्तरसँग भने ।
दशैंमा १ हजार १ सय ८२ मुद्दा
दशैंको समयमा अर्थात् असोज १२ गते देखि २६ गतेसम्ममा १ हजार १ सय ८२ वटा मुद्दा दर्ता भएको प्रहरी प्रधान कार्यलयको तथ्यांकमा उल्लेख छ ।
सामाजिक अपराधमा ३ सय ७३ वटा, महिला तथा बालबालिकासम्बन्धी अपराधमा ८९ वटा, सवारी अपराध ८१ वटा, आगलागी, विष्फोटक पदार्थ, जवरजस्ती करणी, बैकिङ कसूर लगायतका अपराधमा ५० वटा, अहरण र लागूऔषधमा २ वटा, ज्यान मार्ने उद्योगमा १ सय ९६ वटा, आत्महत्यासम्बन्धी १ सय ४८ वटा, चोरी डकैटीका अपराधमा ८० वटा र संगठित आर्थिक अपराधमा ७ वटा गरी १ हजार १ सय ८२ वटा मुद्दा दर्ता भएको प्रहरी प्रधान कार्यलयको तथ्याङ्कले देखाएको छ ।
दशैंमा ३० लाख यात्रु बाहिरिए
दशैंको समयमा उपत्यकाबाट ३० लाखभन्दा बढी यात्रु बाहिरिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार ३० लाख १ हजार १५ यात्रु दशैं मनाउन राजधानीबाट बाहिरिएका थिए ।
‘अग्रिम टिकट बूकिङ भएको असोज ५ देखि २६ गतेसम्ममा ३ लाख ५९ हजार ४ सय ३८ सवारी सवारी साधन बाहिरिएको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रवि पौडेलले बताए ।
अघिल्लो वर्षको तुलनामा यो वर्ष झण्डै २ लाख बढी यात्रु बाहिरिएको प्रहरीको तथ्यांक छ । गत वर्षको दशैंमा ३ लाख ३६ हजार सावरी साधनमा २८ लाख ९१ हजार यात्रु उपत्यकाबाट बाहिरिएका थिए ।
उपत्यकाबाट बाहिरिनेमध्ये १ लाख ५४ हजार २ सय जनाले अग्रिम टिकट लिएका थिए ।
दशैंको अवधिमा ३ लाख ३५ हजार ८ सय सवारी साधनमा १८ लाख ३५ हजार ५ सय यात्रु उपत्यकाभित्र प्रवेश गरेको पौडेलले बताए ।
अघिल्लो वर्षभन्दा यो वर्ष यात्रुहरूले सहज रूपमा घर जान पाएको प्रहरीको दाबी छ ।