११ असार २०८३, बिहीबार

आलोचना भएपछि देउवाको विज्ञप्ति : ‘आलममाथिको अनुसन्धानमा कांग्रेसको सहयोग रहन्छ’

कात्तिक २, २०७६
आलोचना भएपछि देउवाको विज्ञप्ति : ‘आलममाथिको अनुसन्धानमा कांग्रेसको सहयोग रहन्छ’
फाइल फोटो

काठमाडौं – नेपाली कांग्रेसका सांसद तथा पूर्व मन्त्री मोहम्मद आफताव आलम मुछिएको मुद्दाबारे सभापति शेरबहादुर देउवाले दिएको अभिव्यक्ति विवादित भएपछि उनले थप स्पष्ट पार्न विज्ञप्ति जारी गरेका छन् ।

शनिवार विज्ञप्ति जारी गर्दै उनले अनुसन्धानमा कांग्रेसले सहयोग गर्ने स्पष्ट पारेका छन् । १२ वर्ष पुरानो मुद्दामा अभियुक्तलाई पक्राउ गर्नु ठीक नभएको आशयको देउवाको अभिव्यक्ति सार्वजनिक भएपछि उनको आलोचना भइरहेको छ । 

२०६४ सालमा भएको भनिएको हत्याकाण्डको अनुसन्धानका क्रममा आलम प्रहरी हिरासतमा छन् । 

‘मोहम्मद आफताव आलम माथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई नेपाली कांग्रेसको सहयोग रहन्छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु ।’

हेर्नुस् विज्ञप्तिको पूर्णपाठ –

प्रेस विज्ञप्ति
सबै अस्पष्टता र अन्यौल निवारणार्थ

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा व्यक्त धारणाले उत्पन्न गरेको केही अन्यौल र अस्पष्टता चिर्न यो विज्ञप्ति जारी गरेको छु ।

कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्छ नै । १२ बर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ । 

तर कानुनी राज्यमा विश्वास गर्ने नेपाली कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन । मोहम्मद आफताव आलम माथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई नेपाली कांग्रेसको सहयोग रहन्छ । निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु ।

जय नेपाल !
शेरबहादुर देउवा
सभापति

salt training

कमेन्ट गर्नुहोस्