०१ असार २०८३, सोमबार

कर्णालीलाई रातारात विकासमा एक नम्बर बनाउन सकिँदैन - वनमन्त्री बस्नेत

कात्तिक २, २०७६
कर्णालीलाई रातारात विकासमा एक नम्बर बनाउन सकिँदैन - वनमन्त्री बस्नेत

सुर्खेत - संघीय सरकारका वनमन्त्री शक्ति बस्नेतले कर्णालीलाई रातारात एक नम्बरमा विकास गर्न नसकिने बताएका छन् । गृहजिल्ला जाजरकोट जान शनिवार सुर्खेत विमानस्थलमा आएका मन्त्री बस्नेतले पत्रकारसँग कुराकानी गर्दै विगतदेखि नै पछि पारिएको प्रदेश कर्णाली भएको तथा भौगोलिक देखि अन्य चुनौती भएका कारण रातारात विकास गर्न नसकिने बताएका हुन् ।

‘विभिन्न विकासका कामहरु अघि बढेका छन्, कर्णाली करिडोर बन्दैछ,’ उनले भने, ‘हामी कर्णालीलाई कसरी राज्यको मूल प्रवाहमा राख्न सक्छौं र कर्णालीको विकास गर्न सक्छौं भन्नेमा केन्द्रित छौं ।’

उनले सुर्खेतमा एअरपोर्ट जमिनका कारण नरोकिने बताउँदै छिन्चु बसपार्क निर्माणका लागि सरकारले जग्गा उपलब्ध गराएको स्मरण गर्न आग्रह गरे । उनले कर्णालीका मात्रै नभएर देश भरिकै भूमिहीन, सुकुम्बासी जनताको समस्या समाधान यहि सरकारले गर्ने दाबी गरे ।

‘सरकारले सुकुम्वासी, बाढीपीडित, भूमिहीन जनताको समस्या समाधानका लागि कानून बनाइसकेको छ र पारित पनि भइसकेको छ,’ उनले भने, ‘अब धेरै समय कुर्न पर्दैन । समस्याको सम्पूर्ण ढंगले समाधान गरिन्छ ।’

मन्त्री बस्नेतले सरकार हेरफेर भन्ने कुरा विगतदेखि मिडियाले ल्याउदै आएको बताउँदै यसमा त्यति सत्यता नरहेको दाबी गरे । ‘प्रधानमन्त्रीलाई सहयोग गर्ने र प्रमको सजिलोका लागि मन्त्री छानिएको हुन्छ,’ उनले भने, ‘मन्त्री हेरफेर गर्ने अधिकार प्रधानमन्त्रीमा निहित छ ।’

कार्यकर्ताको लावालस्कर

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको सुर्खेत विमानस्थलमा संघीय सरकारका वनमन्त्री आउने हल्लाकाबीच प्रदेश सरकार, नेकपाका केन्द्रदेखि स्थानीय तहका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो । कार्यकर्ताहरु यति उत्साहित थिए कि माला र खादाको भारी घाँटीमा राखिरहन हम्मे-हम्मे पर्‍यो वनमन्त्री शक्ति बस्नेतलाई ।

वनमन्त्रीको स्वागतमा सामाजिक विकास मन्त्री दल रावल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, नेकपाका सुर्खेत अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाही, प्रदेश सभा सदस्यहरु ठम्मर विष्ट, विन्दमान विष्ट, बीरेन्द्रनगर उपप्रमुख मोहनमाया ढकाल, चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही, अन्य स्थानीय तहका जनप्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्