काठमाडौं – भारतको मुम्बई विमानस्थलमा एक एयर होस्टसलाई सुनको तस्करी गरिरहेको अवस्थामा पक्राउ गरिएको छ ।
आरोपित एयर होस्टेस दुबईबाट मुम्बई पुगेकी थिइन् । उनको ब्यागबाट चार किलो सुन बरामद गरिएको हो । बजारमा त्यसको मूल्य डेढ करोड रुपैयाँभन्दा बढी छ ।
उनले सुन राखिएको ब्याग अन्तर्वस्त्रहरूको बीचमा लुकाएर राखेकी थिइन् ।
अधिकारीहरूका अनुसार, दुबईको एक निजी विमानबाट ती एयर होस्टेस शनिवार मुम्बई विमानस्थल पुगेकी थिइन् । उनले अवैध रूपमा सुनलाई ब्यागमा लुकाएर लाने कोशिश गरिरहेकी थिइन् । शंका लागेपछि अधिकारीहरूले उनलाई सोधपुछ गरेका थिए ।
खानतलाश गर्दा अन्तर्वस्त्रभित्र सुन लुकाइएको पाइयो । त्यसपछि अधिकारीहरूले एयर होस्टेसलाई पक्राउ गरे । सुन तस्करीका लागि आफूलाई एक व्यक्ति लगभग एक लाख रुपैयाँ दिने वाचा गरेको उनले बताइन् ।
एजेन्सी