
काठमाडौं – चिलीको राजधानी सान्टियागोमा हिंस्रक विरोध प्रदर्शनहरू भइरहँदा एक कपडा कारखानामा आगजनी गरिएपछि पाँचजनाको मृत्यु भएको छ ।
सेना र प्रहरीले विरोधकर्ताहरूमाथि अश्रूग्यास र पानीका फोहरा प्रहार गरेका छन् भने प्रमुख शहरहरूमा कर्फ्यु लगाइएको छ ।
सान्टियागोमा संकटकाल लगाइएको छ र त्यसलाई देशका अन्य शहरमा पनि घोषणा गर्न लागिएको छ ।
मेट्रोको भाडा बढाइएका कारण उठेको विरोध प्रदर्शन बढ्दै गएर जीवनयापनमा कष्ट तथा असमानताका कारण उब्जेको आक्रोशलाई प्रतिबिम्बित गरिरहेको छ ।
टेलिभिजनमा अबेर राति सम्बोधन गर्दै राष्ट्रपति सेबास्टियन पिन्येराले भने, ‘हामीहरू एक शक्तिशाली शत्रुविरुद्ध लडिरहेका छौं जसले सीमारहित हिंसा गर्न खोजिरहेको छ ।’
आइतवार विभिन्न शहरमा विरोधकर्ताहरूले थप बसहरूमा आगजनी गरे, मेट्रो स्टेसनहरूमा तोडफोड गरे र दंगा प्रहरीसँग भिडन्त गरे ।
पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री आन्द्रेस चाडविकले गम्भीर हिंसाका ७० वटा घटना भएको अनि सुपरमार्केट तथा अन्य व्यापारिक क्षेत्रमा ४० वटा लुटपाटको घटना भएको बताए ।
१० हजार ५०० प्रहरी र सैनिकहरू सडकमा तैनाथ गरिएको उनले जानकारी दिए । विरोधका क्रममा सातजनाको मृत्यु भएको उनले बताए र विस्तृत विवरण दिएनन् ।
अग्निनियन्त्रकहरूले आगजनी गरिएको कारखानाभित्र पाँचवटा शरीर फेला पारेको बताए ।
देशभरि १४ सयजनालाई हिरासतमा लिइएको अधिकारीहरूले बताए । प्रहरीसँगको भिडन्तमा दुईजनालाई गोलीको चोट लागेको छ ।
एजेन्सी