
काठमाडौं – वैज्ञानिकहरूले मुसालाई साना खेलौना कार चलाउन सिकाएका छन् । यसबाट मुसाहरू सोचेभन्दा बुद्धिमान् भएको संकेत पाइएको छ ।
मुसाहरूलाई साना कारमा चढ्न, पञ्जाले ह्यान्डलबार समात्न र बाटोको कुनामा रहेको खानातर्फ कार गुडाउन सिकाइएको थियो ।
मुसाहरूले अद्वितीय तरिकाले कार गुडाएको र अनौठो गरी स्टेयरिङ घुमाएको वैज्ञानिकहरूले पाए ।
रिचमोन्ड विश्वविद्यालयको एक टोलीले उक्त परीक्षण गरेको हो । उनीहरूले विद्युतीय सर्किट पूरा गर्ने मुसाहरूका लागि कार चलाउने गरी डिजाइन गरेको न्यु सायन्टिस्टले लेख्यो ।
कारका साना भागहरू प्लास्टिक, एल्युमिनियम र पित्तलबाट बनाइएका हुन् ।
कार सही रूपमा चल्नका लागि मुसाहरूले कारको भुयँमा उभिने र पञ्जाले पित्तलको बार समात्ने काम गर्नुपर्छ ।
टोलीले ६ वटा पोथी र एकवटा भाले मुसालाई ट्य्राकमा कार गुडाउन सिकाएका थिए ।
कार चलाएबापत उनीहरूलाई फलफूल उपहार दिइएको थियो ।
यो परीक्षणले मुसाहरू पहिले सोचेको भन्दा बढी बुद्धिमान् रहेको संकेत दियो । अनि मुसाहरूलाई कार चढ्दा आनन्द आउने पनि टोलीले पायो ।
एजेन्सी