१५ असार २०८३, सोमबार

कास्की– २ मा साझा पार्टीबाट रजनी केसी उम्मेदवार

कात्तिक ६, २०७६
कास्की– २ मा साझा पार्टीबाट रजनी केसी उम्मेदवार

काठमाडौं– कास्की क्षेत्र नम्बर २ मा आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा साझा पार्टीले केन्द्रीय सदस्य रजनी केसीलाई उम्मेदवार बनाउनेको भएको छ ।

यही कात्तिक ५ र ६ गते पोखरामा सम्पन्न केन्द्रीय समिति बैठकले केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता डा. सूर्यराज आचार्यले विज्ञप्तिमार्फत जनाएका छन् ।

'बैठकले प्रतिनिधि सभा कास्की क्षेत्र नं. २ को रिक्त सांसद पदका लागि पार्टीको जिल्ला र क्षेत्रीय समिति सिफारिसअनुसार पोखरा महानगरपालिका निवासी साझा पार्टी केन्द्रीय सदस्य रजनी केसीलाई पार्टीको उम्मेदवारका रूपमा चयन गरेको छ । उप-निर्वाचन हुन गइरहेका अन्य रिक्त पदका लागि पार्टीले विधि-विधानअनुसार क्रमिक रूपमा उम्मेदवार चयन गर्नेछ,' विज्ञप्तिमा भनिएको छ ।

केसी कांग्रेस छाडेर केही समयअघि मात्र साझा पार्टीमा प्रवेश गरेकी थिइन् ।

 

उक्त क्षेत्रबाट निर्वाचित सांसद एवं तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि कास्की– २ रिक्त भएको हो ।

हेर्नुहोस्, साझा पार्टीको विज्ञप्ति :

 

कास्की क्षेत्र नं २ मा उमेदवार चयनबारे

यही कार्तिक ५ र ६ गते पोखरामा केही महत्त्वपूर्ण निर्णय सहित साझा पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ। पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन केन्द्रीय नेतृत्वले छिटै नै देश भरि बुद्धिजीवि, नागरिक अगुवा, उद्योगी-व्यवसायी लगायत आम जन समुदायसँग परामर्श र अन्तरक्रिया गर्ने निर्णय गरेको छ। साथै आसन्न उप-निर्वाचनका बारेमा रणनीतिक योजना, उम्मेदवार चयन र निर्वाचन परिचालन बारेमा पनि आवश्यक निर्णय लिएको छ।

बैठकले प्रतिनिधि सभा कास्की क्षेत्र नं २ को रिक्त सांसद पदका लागि पार्टीको जिल्ला र क्षेत्रीय समिति सिफारिस अनुसार पोखरा महानगरपालिका निवासी साझा पार्टी केन्द्रीय सदस्य रजनी केसी लाई पार्टीको उम्मेदवार रूपमा चयन गरेको छ। उप-निर्वाचन हुन गइरहेका अन्य रिक्त पदका लागि पार्टीले विधि-विधान अनुसार क्रमिक रूपमा उम्मेदवार चयन गर्ने छ।

कास्की क्षेत्र नं २, साझा पार्टीको उम्मेदवार रजनी केसी लामो समयदेखि समाज रूपान्तरणका लागि सामाजिक, धार्मिक र राजनीतिक रूपमा लागि परेको एक जना अभियान कर्ता हुन। उनले सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपाल परिवार नियोजन सङ्घ लगायत विभिन्न सङ्घ, संस्थाहरुमा नेतृत्वदायी जिम्मेवारी सम्हाल्नुका साथै लामो समय विभिन्न तह र तप्कामा रहेर राजनीतिक अनुभव बटुलेकी छन्। गत वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजीनामा दिएर उनी साझा पार्टी निर्माणको अभियानमा संलग्न भएकी थिइन। उनले जनसङ्ख्या, लैङ्गिक अध्ययन तथा विकासमा स्नातकोत्तर गरेकी छन्।

जग जाहेरै छ, भ्रष्टाचार शिखरमा छ। शिक्षा र स्वास्थ्यमा नाफाखोर व्यापार छ। क्षमतावान् र ऊर्जा शील युवा देश छोड्न बाध्य छन्। नागरिक स्वतन्त्रतालाई अङ्कुश लगाउने गरी सरकार अनुदार लोकतन्त्रतर्फ उन्मुख देखिंदैछ। जनभावनालाई प्रखररूपमा मुखरित गर्ने भूमिकामा रहेको प्रतिपक्ष अकर्मण्य र उदासीन छ। सत्तासीन र प्रतिपक्षमा रहेका दुवै ठुला दलले जनताको अपेक्षामा गंभिर तुषारापात गरेका छन्।

मुलुकका यी सबै समस्याको जड राजनीतिलाई पेसा र राज्य दोहनको माध्यम बनाउने पुराना दलको गलत राजनीतिक शैली हो भन्ने साझा पार्टीको ठहर छ।

यो पृष्ठभूमिमा सङ्घ, प्रदेश र स्थानीय तहका विभिन्न रिक्त पदमा हुन लागेको उप-निर्वाचन जनप्रतिनिधि छान्ने एक सामान्य निर्वाचन मात्र होइन। यो उपनिर्वाचन सत्ता र प्रमुख प्रतिपक्षमा रहेका दुवै दलले आम जनतालाई गरेको विश्वासघातमाथिको ‘जनमत-सङ्ग्रह’ हो। हरेक चुनाव क्षेत्रका मतदातामा सम्पूर्ण नेपाली जनताको भावनालाई प्रतिनिधित्व गर्दै मतदान गर्नु पर्ने गहन जिम्मेवारी थपिएको छ।

राजनीतिक बेथितिप्रति आमजनताको प्रतिक्रिया र आक्रोशलाई समाधानमुखि सिर्जनात्मक शक्तिमा बदल्न अब साझा पार्टी मात्र भरपर्दो विकल्प हो। हामी तपाईँको सहयात्री हुँदै पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टताको चार खम्बामा टेकेर ‘कल्याणकारी लोकतन्त्र’मार्फत एकै पुस्तामा देश रूपान्तरण गर्न प्रतिबद्ध छौँ।

तराजु चिन्हमा छाप लगाई साझा पार्टीको अभियानलाई सघाउन तपाईँलाई हार्दिक अपिल गर्दछौँ।

डा. सूर्यराज आचार्य
प्रवक्ता, साझा पार्टी
मिति: ६ कार्तिक २०७६

salt training

कमेन्ट गर्नुहोस्