
पोखरा – पश्चिमाञ्चल होटल संघ पोखराले फेवा तालको संरक्षणका लागि उपल्लो तटीय क्षेत्रलाई लक्षित गरी गठित फेवा वाटरसेड इकोसिस्टम म्यानेजमेन्ट बोर्डलाई बुधवार १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
पोखराको लेकसाइडमा आयोजित बोर्डको बैठकमा संघका अध्यक्ष विकल तुलाचनले बोर्डका संयोजक पुण्यप्रसाद पौडेललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।
कार्यक्रममा संघका अध्यक्ष तुलाचनलले वातावरण संरक्षण र संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत संघले विगतमा पनि विभिन्न काम र गतिविधि सञ्चालन गर्नुका साथै आर्थिक सहयोगसमेत गरेको बताए ।
यसअघि पनि संघले २ पटक गरेर २ लाख १ हजार १११ रुपैयाँ ताल संरक्षणका लागि बोर्डलाई प्रदान गरिसकेको छ । उपल्लो तटीय क्षेत्रको संरक्षण भए फेवा तालको संरक्षणमा ठूलो टेवा पुग्ने सोचका साथ ३ वर्षअघि बोर्डको स्थापना गरिएको हो ।
कार्यक्रममा बोर्डका संयोजक पौडेलले हालसम्म सो संस्थामार्फत भएका संरक्षणका काम सम्बन्धमा जानकारी दिँदै डब्लु डब्लु एफ – हरियो वन र पोखरा महानगरपालिका तथा स्थानीय एवं सरोकारवालासँगको सहकार्यमा संरक्षणका काम भइरहेको बताए ।
उनका अनुसार उपल्लो तटीय क्षेत्रमा अघिल्लो वर्ष मात्र लगभग २१ लाख रुपैयाँको लागतमा संरक्षणका काम गरिएको थियो । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा यो आर्थिक वर्षमा काम गर्ने गरी फेवा तालको मुहानको रुपमा रहेका खोलामा ५ वटा ‘चेक ड्याम’ निर्माण गर्ने योजना रहेको उनले बताए ।
योजनाका लागि ३४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिँदै उनले यस वर्ष जलकुम्भी झार तालबाट हटाउने योजनालाई प्राथमिकता दिइने बताए । उपल्लो तटीय क्षेत्रमा घरवास सञ्चालन, अम्रिसो, कफिलगायत आयआर्जनसँग सम्बन्धित खेतीसँगै संरक्षणका कामलाई प्राथमिकताका साथ अघि बढाइने बताइएको छ ।