बैतडी, २३ चैत– आगामी बैशाख ३१ गते हुने स्थानीय चुनावका लागि ७ नम्बर प्रदेश अन्तर्गतको पहाडी जिल्ला बैतडीमा नगरपालिकाको मेयर र गाउँपालिकाको अध्यक्ष बन्ने आकांक्षीहरुबीच टिकट पाउने प्रतिस्पर्धा नै चलेको छ ।
पूर्व प्रधानमन्त्री तथा राप्रपा नेपालका नेता लोकेन्द्र बहादुर चन्दको गृह जिल्लामा स्थानीय चुनावमा भने कांग्रेस र एमाले र माओवादी केन्द्रबीच नै तीब्र प्रतिस्पर्धा हुने देखिन्छ । यस्तै चन्दको जन्मथलो मेलौली क्षेत्रमा भने राप्रपाको पनि बलियो पकड छ ।
तत्कालिन अवस्थामा २ वटा निर्वाचन क्षेत्र रहेको बैतडीमा २०७० मंसिर ४ गते सम्पन्न संविधान सभाको दोस्रो निर्वाचनमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले जित हासिल गरेका थिए । जसकारण यसपटकको स्थानीय निर्वाचनमा पनि कांग्रेस र एमालेबीच नै कडा प्रतिस्पर्धा हुने धेरैको आकलन छ ।
उम्मेदवार छान्ने कार्यमा माओवादी अगाडिबैतडी जिल्लामा ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका गरी १० स्थानीय तह छन् । अन्तर्गत सत्तारुढ दल नेकपा माओवादी केन्द्र बैतडीले जिल्लामा रहेका चारवटा नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा मेयर तथा अध्यक्षका उम्मेदवारको टुङ्गो लगाएको छ ।
माओवादी केन्द्रले मेलौली नगरपालिकाको मेयरका लागि भीमबहादुर चन्द, पाटन नगरपालिकामा शङ्कर भण्डारी, पुरचौडी नगरपालिकामा रणबहादुर कँुवर र दशरथचन्द नगरपालिकामा खिमानन्द भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला संयोजक प्रेमप्रकाश भट्टले जानकारी दिए ।
यस्तै, पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा रमेश चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको उनले बताए । अन्य गाउँपालिकामा भने उम्मेदवारको टुंगो लाग्न सकेको छैन । चैत २५ गतेभित्र सबै उम्मेदवारको टुंगो लगाइसक्ने माओवादीका नेताहरुले जनाएका छन् ।
कांग्रेसलाई उम्मेदवार छान्न सकसनेपाली काँग्रेसले ‘चारतारे लोकतान्त्रिक चौतारी अभियान’अन्तर्गत जिल्लाका चारवटै नगरपालिका र छ वटै गाउँपालिकामा उम्मेदवारका आकांक्षीको बारेमा सर्वेक्षण सुरु गरेको छ । नेपाली काँग्रेस बैतडी क्षेत्र नं २ क्षेत्रीय सभापति तेजबहादुर चन्दका अनुसार पार्टीमा उम्मेदवारका आकांक्षी धेरै भएकाले छनोटका लागि अभियान थालिएको हो ।
आकांक्षीमध्येवाट उत्कृष्टको खोजी भइरहेको उनले बताए । चैतको अन्तिमसम्म सम्भावित उम्मेदवारको टुङ्गो लगाउने समेत सभापति चन्दले बताए ।
गाउँपालिका तथा नगरपालिकाका उम्मेदवारको टुङ्गो लगाउने अधिकार क्षेत्रीय कार्यसमितिमा छ । त्यहाँ सहमति हुन नसकेमात्रै हामी जिल्ला कार्यसमितिमा पठाउने उनले बताए ।
एमालेले गाउँस्तरका भेलाबाट उम्मेदवार छान्ने स्थानीय तहको चुनावका लागि उम्मेदवार छान्न नेकपा एमालेले गाउँ तथा क्षेत्रीय स्तरमा भेला आयोजना गरिरहेको छ । जिल्लाका नगरपालिका तथा गाउँपालिकामा सम्भावित उम्मेदवारको पहिचान गर्न कार्यकर्ता भेलालाई निरन्तरता दिएको एमाले जिल्ला सचिव लिलाधर भट्टले बताए ।
‘जिल्लाका सबै ठाउँमा हामीले भेला गरिरहेका र पार्टीमा पु¥याएको योगदान, स्थानीयको चाहनालगायतका विषयलाई ध्यान दिएर उम्मेदवार चयन गरिने छ,’ जिल्ला सचिव भट्टले भने ।
राप्रपाले बैशाख पहिलो साताभित्रै उम्मेदवार छान्नेराष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारको टुङ्गो लगाउनका लागि चैत ३० गतेभित्र सम्भावित उम्मेदवारको नामावली जिल्ला कार्यसमिति पठाउन मातहतका समितिलाई निर्देशन दिएको छ ।
‘गाउँपालिका तथा नगरपालिकामा नेतृत्वका लागि आकांक्षीको नामावली चैत मसान्तभित्र पठाउन भनेका छौँ,’ राप्रपाका प्रदेश नम्बर ७ का संयोजक पुष्करराज जोशी (लख्खाभाइ)ले भने, ‘वैशाख ५ गतेभित्र उम्मेदवारको टुङ्गो लगाउँछौँ ।’
साना दलपनि ‘आफूअनुसारको’ अभियानमाठूला दलसँगै साना दलले पनि जिल्लामा चुनावी अभियान जारी राखेका छन् । नेकपा माले, राष्ट्रिय जनमोर्चालगायतका दल चुनावी रणनीतिका साथ गाउँ पसेका छन् ।
साना दलहरु अहिले स्थानीय स्तरमा चर्चित व्यक्तिहरुलाई आफ्नो पार्टीबाट उम्मेदवार बनिदिन पनि आग्रह गरिरहेका छन् । यस्तै धेरै साना दलहरुले कार्यकर्ता भेलामार्फत पनि स्थानीय चुनावका एजेण्डा तयार पारिरहेका छन् ।
यो समाचारका लागि रासस तथा स्थानीय पत्रकारहरुको सहयोग लिइएको हो ।