काठमाडौं, ५ पुस-प्रहरी नायब महानिरीक्षक (डीआइजी)को बढुवामा अन्याय भएको भन्दै दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अदालत जाने भएका छन् । बढुवाको सिफारिसमा नपरेका एसएसपीद्वय लब विष्ट र बलराम शर्मा पौडेलले न्यायका लागि अदालत जाने निर्णय लिएका हुन्, आजको राजधानी दैनिकमा खबर छ ।

बढुवा समितिले केही दिनअघि मात्रै एसएसपी गणेश केसी, रमेश भट्टराई र केदारमान सिंह भण्डारीलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो । सो सिफारिसमा आफूहरूमाथि गम्भीर घात हुनुका साथै कार्यसम्पादन मूल्यांकनसमेत नभएको कारण न्यायका लागि अदालत जाने निर्णय गरिएको विष्ट र पौडेलको भनाइ छ । बढुवामा नपरेका एसएसपी विष्टले सिफारिस आपत्तिजनक रहेको बताए । कामलाई भन्दा अन्य विषयलाई नै प्राथमिकता दिई बढुवाको सिफारिस गरेका कारण अदालत जानुपर्ने बाध्यता आएको विष्टको भनाइ छ ।