
काठमाडौं – पाँच महिनाअघि भएको लोकसभा चुनावमा भारी जीत हासिल गरेको भारतीय जनता पार्टीले महराष्ट्र विधानसभा चुनावमा त्यही प्रदर्शन दोहोर्याउन सकेन ।
राज्यमा भाजपाका सीट घटेको छ ।
तर भाजपा र शिवसेना गठबन्धनले सरकार बनाउनका लागि स्पष्ट बहुमत पाएको छ । राज्यका २८८ सीटमा गठबन्धनले १६१ सीट जितेको छ ।
विपक्षी कांग्रेस र एनसीपी गठबन्धनले सन् २०१४ मा ८३ सीट जितेकोमा यसपालि ९८ सीट जितेको छ ।
महाराष्ट्रमा सत्तारूढ देवेन्द्र फणनवीस सरकारमा मन्त्री बनेका नौजना ठूला नेताले चुनाव हारेका छन् ।
फणनवीसले शिवसेनाको सहायतामा सरकार बनाउने बयान जारी गरेका छन् । गठबन्धनमा बराबरी हिस्सेदारीको प्रश्नमा उनले सही समय आएपछि बताइने जवाफ दिए ।
शिवसेनाले सन् २०१४ को तुलनामा यसपालि कम सीट जितेको छ । तर भाजपाले पनि पहिलेको भन्दा कम सीट जितेको कुराले शिवसेनालाई खुशी बनाएको हुनुपर्छ । शिवसेनाले तागत बढेको रूपमा यसलाई लिएर आधा हिस्सेदारीको दबाब दिन पाएको छ ।
दुवै दलले साढे दुई साढे दुई वर्ष मुख्यमन्त्रीको पद र बराबर पोर्टफोलियोको सम्झौता गरेको बताइएको छ ।
चुनावपछि शरद पवारको शक्ति बढेको छ । एनसीपीले आफ्नो स्थिति बलियो बनाएको छ र सतारा लोकसभा सीटमा भएको उपचुनाव पनि सजिलै जितेको छ ।
एजेन्सी