
काठमाडौं – नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक (तिहार) शुरू भएको छ । तिहारका बेला काग, कुकुर, गोरु र गाईको धुमधामले पूजा गरी माला लगाएर मीठामीठा परिकार खुवाउने चलन छ ।
गाईगोरु नहुनेहरू जसको घरमा छ, उसैकोमा गएर पूजा गर्नेको लर्काे नै लाग्छ । अघिपछि वास्ता नगर्ने सडकमा खोजीखोजी कुकुरलाई माला लगाउन तम्सन्छन् । माया गरेजस्तो गरी सेल्फी हानेर हतारहतार सामाजिक सञ्जालमा राख्छन् ।
‘यो सब देखावटी नाटकझैं लाग्छ, एक दिन पूज्ने, ३६४ दिन मतलब नगर्ने, यसरी पूजा गरी माला लगाएको के अर्थ ?’ पशु अधिकारकर्मी बीना पन्त प्रतिप्रश्न गर्छिन् । शनिवारदेखि त्यही दिन देख्नुपर्ने छ भनेर पन्त चिन्तित छिन् । पशुपंक्षीलाई वास्तवमा माया गर्नेले यसरी देखावटी गर्दैनन् ।
केही महिनाअघि नेपालगञ्जबाट दैलेखका लागि लगिएका ३ दर्जन गाईगोरु सुर्खेतको एक जंगलमा मृत अवस्थामा भेटिएको र कैयौं घाइते देखिएको कारुणिक दृष्यले नै प्रष्ट हुन्छ पशुहरूको अवस्था नेपालमा कस्तो छ भनेर । सच्चा प्रेम गर्नेले हरेक दिन उनीहरूको संरक्षणमा चिन्तित हुनुपर्ने पन्तको भनाइ छ ।
‘पशुपंक्षीप्रति निर्दयीता रोकावट समाज’ मार्फत बीना पन्तको समूहले अहिले पशुको संरक्षण अभियान चलाउँदै आएको छ । संस्कृतिविद् डा. गोविन्द टण्डनको संरक्षकत्वमा तथा पशु अधिकारकर्मी विकेश श्रेष्ठको अध्यक्षतामा गठित समाजमा सम्झना आचार्य, शान्ता सुब्बा, रीमा कपाली, बीना पन्त, सञ्जिता खड्का, रीता सुब्बा, नेहा श्रेष्ठ लगायतको समूह सक्रिय छ । उनीहरूको संरक्षण केन्द्रमा अहिले पनि ८० वटा कुकुर छ । गाईबाच्छा पनि राखिएको छ ।
सडकमा गाडीले किचेर र रोगले ग्रस्त भएर छटपटाइरहेका पशुहरू यत्रतत्र छन् । यस्तो देख्दा पीडा लागेर आउँछ भन्छन् पन्त । कुकुर त आफैं सँघेर पनि खानेकुरा खोज्न सक्छ तर गाईगोरुको पीडा झन् डरलाग्दो छ रहेको पशु संरक्षणकर्मीको भनाइ छ । पन्तका अनुसार गाईगोरु बाच्छाबाच्छी सडकमा हुँदा तिनीहरूलाई खाने कुरा हुन्न, पौष्टिक खाएर बस्ने गरेका घाइते धेरै हुन्छन् ।
धेरै समय प्लाष्टिक खाएकाले तिनीहरू बाँच्ने सम्भावना कम हुने पशु चिकित्सकको भनाइ छ । पन्तका अनुसार पनि केही वर्षको अन्तरालमा उद्धार गरिएका धेरै गाईगोरु उपचारको प्रयास गर्दागर्दै मरेको छ ।
सडकमा प्लाष्टिक खाएकाले बचाउन नसकिएको उनको भनाइ छ । उनको समूहले सडकमा घाइते भएकाको उद्धार र संरक्षण गर्दै आएको छ । अलि राज्यको ध्यान पशुको क्षेत्रमा जाने हो भने समाधान रुहेको पन्त बताउँछिन् ।
समूहले अहिले ८० कुकुर पालेका छन् । हिजोसम्म राम्रो देखिने गाईबाच्छा, कुकुर आज घाइते हुन्छन् । सबै रातिको समयमा गाडीले ठक्कर दिएको हुन्छ । पछिल्लो समयमा जनावरको अधिकारका बारेमा आवाज उठ्न थालेको छ । संरक्षण केन्द्र पनि बढ्दो क्रममा छ ।
उपत्यकाको विभिन्न क्षेत्रमा एनिमल नेपाल, स्नेहा केयर, काठमाडौं एनिमल ट्रिटमेन्ट सेन्टर नेपाल, श्री फाउन्डेसन लगायतले गाई, गोरु, कुकुर, बिरालो, गधालगायत जनावरको संरक्षण गर्दै आएको छ ।
पालेका कुकुर गाडीले हानेर घाइते हुनाका साथै अपाङ्गतासमेत भएका छन् । ‘कुसैको केही अंग चल्दैन, कुनैको शरीरको पछाडिको भाग चल्दैन । साना बच्चादेखि बूढोसम्मका असहाय, अपांग पशुहरू राखिएको छ । घाउमा किरा परेका कुकुर छन्, खुट्टा कुहिएका छन् सबैलाई ल्याएका छौं, उपचारपछि धेरै निको पनि भएको छ,’ पन्तले आफ्नो अनुभव सुनाए ।
पन्तको समूह कुकुरको उद्धारमा नै दिनभर खटिन्छ । सडकमा छाडा छाडिएका हरेक पालुवा जनावरमा मन जान्छ । दिनको धेरैजसो समय सडकसडक दगुर्दैमा बित्छ । कतैबाट फोन आयो भने असहाय पशुको उद्धारमा लाग्ने पन्त बाटोमा हिँड्दै गर्दा असहाय गाई, कुकुर बसेको देख्नेबित्तिकै सके आफ्नै गाडीमा नसके ट्याक्सीमै हालेर पनि केन्द्रमा पुर्याउँछन् । सडकका बेवारिसे मानवको उद्धारमा समेत उनी यसैगरी खटिन्छिन् । पालिएका कुकुरलाई बन्ध्याकरण गरी बलियो बनाएर उसको पुरानै ठाउँमा छाड्ने गरिएको उनले बताइन् ।
असहाय पशुको संरक्षणका लागि डा गोविन्द टण्डनले २७ वर्षअघि पशुपक्षीप्रति निर्दयीता रोकावट समाज नेपाल स्थापना गरेका थिए । ‘पृथ्वीमा सबै प्राणीले बाँच्न पाउने अधिकार छ । सबैले सबैलाई प्रेम गरौं मानवलाई पनि माया गर्नुपर्छ र असहाय पशुलाई पनि संरक्षण गर्नुपर्छ’ भन्ने संस्थाको उद्देश्य रहेको जनाइएको छ । – नारायण ढुंगाना/रासस