०७ असार २०८३, आइतबार

नेपाली कफी अन्तर्राष्ट्रिय बजारमा

कात्तिक ८, २०७६
नेपाली कफी अन्तर्राष्ट्रिय बजारमा

अर्घाखाँची – बजारको सुनिश्चित, मनग्य आम्दानी  र सजिलैसँग खेती गर्न सकिने भएपछि यहाँका कृषकहरू ६ वर्षदेखि कफीखेतीमा आकर्षित भएका थिए । 

४ वर्ष पहिला १८ टन कफी उत्पादन भएकामा गबारोले कफीका बोट मरेपछि गएको वर्ष उत्पादन घटेर छ टनमा झरेको जिल्ला कफी व्यवसायी संघका कोषाध्यक्ष पुष्करनाथ बन्जाडेले बताए ।

विश्वमै उत्कृष्ट ब्राण्ड पाएको यहाँको कफीमा पछिल्लो ४ वर्षदेखि उप्पादनमा कमी आएको हो । विक्रम संवत् २०७० देखि झण्डै १२ टन कफी उप्पादनमा कमी आएको हो । सो वर्षभन्दा अगाडि १६ टन उत्पादन हुँदै आएको थियो ।

गबारोले कफीका बोटमा आक्रमण गरी ध्वस्त पारेपछि पकेट क्षेत्रका रुपमा रहेका सन्धिखर्क नगरपालिकाका अर्घा, किमडाँडा र बाङ्गला, छत्रदेव गाउँपालिकाका ठूलापोखरा र बल्कोट, भूमिकास्थान नगरपालिकाका धारापानी र ढाकाबाङग, शीतगङ्गा नगरपालिकाका ठाडा र सीतापुरलगायतका ठाउँमा उत्पादनमा कमी आएको हो ।

विक्रम संवत् २०५८ देखि कफी व्यवसायी संघ स्थापना गरी, व्यावसायिकरूपमा व्यवसाय शुरू गरिएको हो । २०६०/६१ मा जिल्लाका विभिन्न स्थानमा ४१ समूह गठन गरी १ हजार १६५ सदस्य रहेका बजान्डेले बताए ।

जिल्लामा उत्पादन भएको अग्र्या्निक र पार्चमेन्ट कफी कोरिया, अमेरिका र जापानमा निर्यात भएको छ । जिल्ला कफी व्यवसायी संघले सघाउँदै संकलन गरिदिएपछि नेपाली कफीको विदेशमा बजारीकरण हँुदै आएको हो ।

नेपालमा ७ वर्ष पहिले भएको ३२ देशका कफी व्यवसायीको तालिममा कप टेष्ट गर्दा पनि नेपालकै अर्घाखाँची र गुल्मीको कफी स्वादिलो भएको प्रमाणित भएको तालिममा सहभागी बजान्डेको भनाइ छ ।

विश्वमा नेपालको कफी उत्कृष्ट भएर माग बढ्दै गएकाले, कफी खेतीलाई व्यवस्थित बनाएर उत्पादनमा वृद्धि गर्न, कफी कृषक लागेका छन् । करीब १.०९ हेक्टर जमिनमा कफी खेती हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गवारो नियन्त्रणका लागि प्रयास भइरहेको जिल्ला कृषि ज्ञान केन्द्रका थीरलाल गैरेले बताए ।

यस वर्ष पनि गएको वर्षको हाराहारीमै कफी उत्पादन हुने अपेक्षा गरिएको छ । पूर्णरूपमा गबारो नियन्त्रण नभएपनि भाउ राम्रो र बजारका लागि कतै धाउनै नपर्ने भएपछि कृषक झन् उत्साहित बनेका उनको भनाइ छ । कफीका लागि छहारी व्यवस्थापन र गबारो नियन्त्रणसम्बन्धी सीप सिकाउन सरकार तथा कुनै सङ्घ संस्थाले पहल गरेमा कृषकलाई ठूलो राहत हुने ठूलापोखराका कृषक कृष्णप्रसाद पाण्डेले बताए ।

कफी उत्पादन दुई वर्षदेखि घट्दै गएको र कफीका बिरुवा लगाउँदा कृषकले छहारीमा लगाउनुको सट्टा नाङ्गो जमिनमा लगाउँदा र चिस्यान  बारीको सट्टा सुक्खा जमीनमा  लगाउँदा गबारो लाग्ने सम्भावना बढी हुन्छ । समुद्री सतहदेखि ८०० मिटरको उचाइमा हुने कफी बढी स्वादिले हुने भएपछि यहाँको कफीले अन्तर्राष्ट्रिय स्तरमा राम्रो बजार पाएको छ ।

कमेन्ट गर्नुहोस्