
सुर्खेत - उपराष्ट्रपति नन्दकिशोर पुनले नेपालीका लागि सिंजा सभ्यता मुटु भएको बताएका छन् ।
जुम्लाको कनकासुन्दरी गाउँपालिकाको सिंजामा आयोजित महोत्सवको उदघाटन गर्दै उनले सिंजा सभ्यताको संरक्षण र प्रवृद्धन गर्नुपर्नेमा जोड दिएका हुन ।
‘कर्णालीको सिंजा क्षेत्र हामी नेपाली भाषाको उदगम थलो मात्रै होइन, गौरवपूर्ण इतिहास पनि हो,’ उनले भने, ‘समृद्ध कर्णाली बनाउन यस क्षेत्रको प्रचार प्रसार आवश्यक छ । यसतर्फ सबै अघि बढन जरुरी छ ।’
उनले सिंजा क्षेत्र आफैंमा ऐतिहासिक क्षेत्र भएको बताउँदै सबल सिंजा बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए ।
‘कोही एकाध व्यक्तिले सिंजा क्षेत्रको जगेर्ना गर्न सक्दैन, त्यसका लागि सबैको साथ सहयोग र सहकार्य आवश्यक छ,’ उनले भने, ‘त्यसका लागि प्रचार प्रसार गरौं र नेपालीभाषीको मुटुको रुपमा संसारभर चिनाऔं ।’
कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार सिंजा क्षेत्रको प्रचार प्रसारका लागि विभिन्न कार्यक्रम ल्याउन लागिरहेको बताए ।
‘हामी यहाँ भाषिक सम्मेलन गर्नेछौं, यहाँको भौतिक पूर्वाधारको विकास गर्नेछौं, कम्तिमा रारा घुम्न आउने पर्यटकलाई यहाँ एक दिन राख्ने गरी सरकारले योजना अघि बढाउनेछ,’ मुख्यमन्त्री शाहीले भने, ‘सरकारले यो वर्ष संग्राहलय खोल्ने तयारी गरेको छ । जुन संग्राहलयले खस भाषाको बारेमा, संस्कृति र परम्पराको बारेमा सबैलाई जानकारी दिनेछ ।’
सामाजिक विकास मन्त्री दल रावलले मन्त्रालय पर्यटकीय गन्तब्यको रुपमा सिंजा क्षेत्रलाई हेरिरहेको बताए । ‘धार्मिक तथा सांस्कृतिक रूपले सिंजा क्षेत्र कर्णालीको महत्वपूर्ण क्षेत्र हो,’ उनले भने, ‘सरकार खस भाषा तथा सिंजा सभ्यताको संरक्षण तथा सम्वर्द्धन गर्न लागिरहेको छ । सबैको साथ सहयोग पाउनेमा हामी आशावादी छौं ।’