
उपनिर्वाचनमा भट्टराईको नाम सिफारिस
यही मङ्सिर १४ गते हुन गइरहेको कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।
शुक्रबार बसेको नेकपा कास्की जिल्ला कमिटी बैठकले भट्टराईलाई सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । बैठकमा उपनिर्वाचनका लागि भट्टराईको एकल नाममा सबैको सहमति जुटेपछि उनको नाम सिफारिस गरिएको थापाले बताए ।
भट्टराई स्वर्गीयनेता रवीन्द्र अधिकारीकी पत्नी हुन् । तत्कालीन पर्यटनमन्त्री अधिकारीको गत वर्ष फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो ।
प्रधानमन्त्री ओली र भेनेजुयलाका राष्ट्रपति मदुरोबीच भेटवार्ता
अजरबैजानमा जारी असंलग्न आन्दोलन(नाम)को१८औँ शिखर सम्मेलनका क्रममा भेनेजुयलाका राष्ट्रपति तथा नामका निवर्तमान अध्यक्ष निकोलस मदुरो र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शुक्रबार बाकु कन्भेन्शन सेण्टरमा भेटवार्ता भएको छ ।
सो अवसरमा प्रधानमन्त्री ओलीले तीन वर्षसम्म नामलाई सफलतापूर्वक नेतृत्व प्रदान गरेकामा राष्ट्रपति मदुरोलाई धन्यवाद दिए । उनीहरुबीच आपसी चासोका विषयमा पनि छलफल भएको थियो ।
शिखर सम्मेलनमा भारतको नेतृत्व गरेका भारतीय उपराष्ट्रपति भेन्कैया नायडु र प्रधानमन्त्री ओलीबीच पनि शुक्रबारै भेटवार्ता भएको बताइएको छ।
डिजिटल अर्थतन्त्रको आधार तयार पार्दै सरकार
ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रका आधारको सवलीकरण गर्ने लक्ष्यका साथ सरकारले डिजिटल नेपाल फ्रेमवर्कका लागि आठ वटा क्षेत्रलाई समावेश गरेको छ । नागरिकलाई सरल र सहजरुपमा सार्वजनिक सेवा दिन र दिगो विकासका लक्ष्य हासिल गर्न डिजिटल फाउन्डेसन, कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र शहरी पूर्वाधार गरी आठ वटा प्रमुख क्षेत्र छनोट गरिएका छ ।
सो फ्रेमवर्कले ती क्षेत्रलाई समेट्ने गरी नेपाललाई आर्थिक सामाजिक प्रगतितर्फ अग्रसर गराउने उद्देश्यका साथ जम्मा ८० वटा डिजिटल पहलसहितको कार्ययोजना समावेश गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
डुइङ विजिनेसमा सुधार कडा मेहनतको प्रतिफल
अर्थमन्त्री डा युवराज खतिवडाले ‘डुइङ विजिनेस–२०२०’ मा नेपालको स्थानमा सुधार आउनुमा नेपाली सरोकारवाला सहकर्मीको कडा मेहनतको प्रतिफल भएको बताएका छन् ।
अर्थमन्त्रालय र विश्व बैंक समूहको संयुक्त आयोजनामा नेपाल डुइङ विजिनेस सूचकाङ्कमा सुधार सम्बन्धमा आयोजित सम्मेलनमा मन्त्री खतिवडाले सङ्घीयता खर्चिलो व्यवस्था भन्दै शङ्का उब्जाइएको अवस्थामा यस्तो सफलता हासिल हुनु निश्चय नै खुशीको कुरा भएको बताए ।
उनले हामीले सङ्घीयता कार्यान्वयनको दोस्रो वर्षमै यो सफलता हासिल हुनुमा सङ्क्रमणकाल छोट्याउनु र एक वर्षमै दर्जनौँ कानून बन्नु पनि भएको बताए ।
कार्यक्रममा विश्व बंैक समूहका देशीय निर्देशक फरिस एच हदाद जर्भोसले नेपालले डुइङ विजिनेसमा राम्रो सफलता हासिल गरेको र राम्रो कार्य सम्पादन गरेको तर यो यात्राको शुरुआत मात्र भएको बताए ।
विश्व बैंकले बिहीबार प्रकाशित गरेको विश्वव्यापी डुइङ विजिनेस सूचाङ्क अर्थात् व्यापार व्यवसाय गर्ने वातावरणको सूचकाङ्कमा नेपाल अघिल्लो वर्षको ११० स्थानबाट ९४ स्थानमा उक्लेको प्रतिवेदन प्रकाशित गरेको थियो । सूचकाङ्कमा विश्वका १९० राष्ट्रको मूल्याङ्कन गरिएको थियो । नेपालले १०० पूर्णाङ्कमा ६३.२ अङ्क प्राप्त गरेको थियो । सूचकाङ्कमा सार्क राष्ट्रहरू श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान नेपालभन्दा पछि नै रहेका छन् ।
इँटाभट्टाका कुरा
काठमाडौँ उपत्यकाभित्रका इँटाभट्टामा कार्यरत श्रमिकलाई धुलो र धुवाँका कारण दीर्घरोग लाग्ने बारेमा कुनै जानकारी नै नरहेको देखाएको छ ।
कार्यस्थलमा रहेको ७५ प्रतिशत मजदूरलाई इँटाभट्टा र वरिपरिबाट निस्कने धुलो र धुवाँका असरका बारेमा जानकारी नभएको शुक्रबारसार्वजनिक एक अध्ययनले जनाएको छ । प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) नामक गैरसरकारी संस्थाले काठमाडौँ उपत्यकाका इँटाभट्टामा गरेको अध्ययन प्रतिवेदनमा इँटाभट्टामा कार्यरत श्रमिकलाई धुलो र धुवाँका कारण दीर्घरोगसमेत पाइएको पनि जनाएको छ ।
अध्ययन प्रतिवेदनअनुसार ११ प्रतिशत कामदारको तत्काल दम, खोकी र निमोनिया भएको देखिएको छ ।
चुनावमा एकताबद्ध हुन नेता अधिकारीको आग्रह
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशका सहइञ्चार्ज एवं पूर्वमन्त्री खगराज अधिकारीले पार्टी एकीकरणपछि हुन लागेको पहिलो उपनिर्वाचन सफल पार्न दृढ सङ्कल्पका साथ लाग्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।
पोखरा महानगरपालिका–१७ पार्टी कमिटीद्वारा शुक्रबार आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले दुई ठूला कम्युनिष्ट पार्टी एक भई सकेपछि हुन लागेको यो पहिलो चुनावमा एकताको राम्रो सन्देश जानुपर्ने बताए ।
पूर्वमन्त्री अधिकारीले कार्यकर्ता र सिद्धान्तको आधारमा पार्टी एकता भएको उल्लेख गर्दै एकताको औचित्यलाई अझै पुष्टि गर्नका लागि पनि चुनाव महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
विकास प्रेमी नेता रवीन्द्र अधिकारी जनतामाझ राम्रो भिजेको चर्चा गर्दै उनले आसन्न निर्वाचनमा उनका अधुरा कामलाई पूरा गर्ने किसिमको जनप्रतिनिधि निर्वाचित हुने धारणा राखे । उपनिर्वाचनमा कास्की २ मा नेकपाले रवीन्द्र पत्नी विद्या भट्टराईको नाम सिफारिस गरेको छ ।
विप्लव समूहका जिल्ला सदस्य पक्राउ
नेत्रविक्रम चन्द (विप्लव) समूहका बागलुङ जिल्ला सदस्य गोविन्द कार्की पक्राउ परेका छन् ।
विशेष सूचनाका आधारमा बागलुङको काठेखोला गाउँपालिका–७ रेश निवासी ४० वर्षीय कार्कीलाई शुक्रबार दिउँसो मालढुङ्गाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
पक्राउ परेका कार्कीलाई राज्यविरुद्धको अपराधमा अनुसन्धान गरी मुद्दा चलाउने बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।
टेलिकमको तिहार अफर
नेपाल टेलिकमले नेपालीको महान् चाड तिहारका साथै छठ र नेपाल संवत्का अवसरमा गत वर्षहरूमा जस्तै यस वर्ष पनि कम्पनीका सेवामा विभिन्न आकर्षक छुट उपलब्ध गराउने भएको छ ।
सो अवसरमा टेलिकमले मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराउने भएको छ । योभन्दा पहिलेदेखि नै उपलब्ध फोरजी÷एलटिइ र अन्य सेवामा विशेष छुटसहितका अफरलाई समेत निरन्तरता दिइएको छ ।
आगामी कात्तिक १० देखि १६ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने टेलिकमले जनाएको छ । यस योजनामा रु ५०, १०० र २०० को रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र रु ५०० र १००० को रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । रु ५०, १०० र २०० को बोनस तीन दिनभित्र र रु ५०० र १००० को बोनस पाँच दिनभित्र उपयोग गरिसक्नुपर्नेछ । त्यसैगरी एमपोसबाट रु १० देखि ४९९ सम्मको रिचार्ज गर्दा १० प्रतिशत र रु ५०० वा सोभन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । सो बोनस क्रमशः तीन दिन र पाँच दिनभित्र उपयोग गरी सक्नुपर्नेछ ।
त्यसैगरी फोरजी÷एलटिई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को सूचना नभएसम्म यो अफर निरन्तर रहने छ ।
धन्वन्तरिः आयुर्वेदका प्रवर्तक
काठमाडौँ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा शनिबार देशभर विविध कार्यक्रम गरी धन्वन्तरि जयन्ती मनाइँदैछ ।
देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाइ समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरिको उत्पत्ति भएको चर्चा वैदिक सनातन हिन्दू ग्रन्थमा गरिएको छ ।
शुक्रबारको दिनलाई आयुर्वेदका चिकित्सकहरूले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् । काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरि जयन्ती मनाउन थालिएको थियो । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसका रुपमा सञ्चालित आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ ।
आयुर्वेद क्षेत्रका व्यक्तिहरूको पहलमा विसं २०५६ देखि धन्वन्तरि जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउन थालिएको छ । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडिबुटी लिएका धन्वन्तरिलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ ।
धन्वन्तरि जयन्तीका अवसरमा शुक्रबार सिंहदरबार वैद्यखाना, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाड., जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालमा समेत विविध कार्यक्रम गरी मनाउने गरिन्छ ।
प्रम ओलीबाट छलफलको अध्यक्षता
प्रधानमन्त्री केपी शर्मा ओलीले असंलग्न अभियान(नाम)का राष्ट्र तथा सरकार प्रमुखहरूको अठारौँ शिखर सम्मेलनको उद्घाटनपछिको पूर्णसत्रको शुक्रबार स्थानीय समयानुसार अपराह्न अध्यक्षता गरेका छन् ।
नाम सम्मेलनको प्रमुख विषय ‘समसामयिक विश्वका चुनौतीहरूलाई एकीकृत तथा पर्याप्त मात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको अनुपालन’ रहेको छ । बैठक बाकु कन्भेन्सन सेन्टरमा आयोजना भइरहेको छ ।
असंलग्न आन्दोलनका वर्तमान अध्यक्ष गणतन्त्र अजरबैजानका राष्ट्रपति इलहाम अलियेभपछि उक्त सत्रमा प्रधानमन्त्री ओलीले अध्यक्षता लिएका हुन् ।
यसैबीच अठारौँ शिखर सम्मेलनमा सम्बोधनका क्रममा उनले आफूले बुद्ध तथा सगरमाथाका भूमिबाट शिखर सम्मेलनको सफलताका लागि शुभकामना ल्याएको बताउँदै असंलग्न आन्दोलनको बाङडुङ सिद्धान्तलाई नेपालको संविधानमा आधारभूत विदेश नीतिको अङ्गका रुपमा राखिएको उल्लेख गरे ।
नेपालले ‘सबैसँग मित्रता राख्ने र कसैसँग शत्रुता नराख्ने’ कुरामा विश्वास गरेको र शान्ति, प्रजातन्त्र, विकास तथा मानव अधिकार एकापसमा जोडिएको कुरा नेपालको अनुभवले देखाएको उनले स्पष्ट गरे ।
उपनिर्वाचनका लागि उम्मेदवारी घोषणा
नेपाली काङ्ग्रेसले चितवनमा हुन गइरहेको उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी घोषणा गरेको छ । भरतपुर महानगरपालिका–१६ तथा खैरहनी नगरपालिका–४ र ५ मा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सार्वजनिक गरिएको हो ।
काङ्ग्रेस महामन्त्री डा शशाङ्क कोइरालाको प्रमुख आतिथ्यतामा भरतपुर महानगरपालिका–१६ ठूलोगढी र खैरहनी नगरपालिकाको पर्सामा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी उम्मेदवारी घोषणा गरिएको हो । कार्यक्रममा केन्द्रीय सदस्य जीवन परियार, काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्वराज्यमन्त्री शेषनाथ अधिकारी, निवर्तमान जिल्ला सभापति टेकप्रसाद गुरुङ, पूर्वसभापति रामकृष्ण घिमिरेलगायत सहभागी थिए।
भरतपुर महानगरपालिका–१६ को अध्यक्षमा अमृत हमाल, खैरहनी नगरपालिका–४ को वडाध्यक्षमा देवबहादुर बस्नेत र वडा नं ५ को वडाध्यक्षमा प्रतिमा कार्की बस्नेतलाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको छ । भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरुङको क्यान्सर रोगका कारण तथा खैरहनी नगरपालिकाका–४ का वडाध्यक्ष नरेन्द्र अधिकारी र वडा नं ५ का वडाध्यक्ष विश्व विजय बस्नेतको नगरपालिकाको कामको सिलसिलामा दुर्घटनामा परी निधन भएको थियो ।
घाइतेलाई उपचारका लागि भारत लगियो
दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा डोजरले हुत्याउँदा घाइते भएकी गौरी जोशीलाई थप उपचारका लागि भारत लगिएको छ । यसअघि उनको धनगढी र नेपालगञ्जमा उपचार गरिएको थियो । बेहोस हुने समस्या कायम रहेकाले थप उपचारका लागि भारत लैजानु परेको गौरीका श्रीमान् जगदिश जोशीले बताए ।
गौरीलाई नेपालगञ्जमा उपचार गरी घर ल्यायँदै थियो । उनलाई बाटोमा असहज भएपछि थप उपचारका लागि भारत लगिएको हो ।
ढिस्कोले पुरिएर बालिकाको मृत्यु
तिहारमा घर लिपपोत गर्नको लागि माटो खन्नेक्रममा सप्तरीको कञ्चनरुप–११ गोरपारमा ढिस्कोले पुरिएर एक जना बालिकाको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप–११ गोरपार निवासी पवन सरदारकी १३ वर्षीया छोरी पुष्पाकुमारी सरदारको रहेकोे इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उपनिर्वाचनका लागि ५४ मतदान केन्द्र
जिल्ला निर्वाचन कार्यालय भक्तपुरले आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ को प्रदेशसभा १ मा रिक्त रहेको प्रदेश सदस्यको निर्वाचनका लागि आवश्यक तयारी तीव्र पारेको छ ।
कार्यालयका सूचना अधिकारी भीमबहादुर बिसीले शुक्रबार यसबारे जानकारी दिँदै उपनिर्वाचनका लागि चाँगुनारायण नगरपालिका वडा नं १ देखि ९ र भक्तपुर नगरपालिका–१० गरी जम्मा १० वटा वडा रहेको यसक्षेत्रमा कूल २२ वटा मतदानस्थल र ५४ वटा मतदान केन्द्र निर्धारण गरेको जानकारी दिए ।
यसक्षेत्रमा ४५ हजार १५ जना मतदाता रहेका छन् । विसं २०७४ को निर्वाचनभन्दा अहिले यस क्षेत्रमा ७४८ महिला र ७३६ पुरुष गरी कूल एक हजार ४८४ मतदाता थपिएको उनले बताए ।